Logo

निर्णायक मोडमा एमसीसी सम्झौता अनुमोदनको मुद्दा : अमेरिकाले दिएको समयसीमा भोलिसम्म, आजको संसद बैठकमा के होला ?

निर्णायक मोडमा एमसीसी सम्झौता अनुमोदनको मुद्दा : अमेरिकाले दिएको समयसीमा भोलिसम्म, आजको संसद बैठकमा के होला ?



काठमाडौं । संसदमा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन हुने वा नहुने विषय निर्णायक मोडमा पुगेको छ । सम्झौताबारे निर्णय गर्न अमेरिकाले नेपाललाई फागुन १६ अर्थात भोलिसम्मको समयसीमा दिएको थियो । सोअनुसार प्रधानमन्त्री शेरबहादुर दउबा र सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट एमसीसी पास गराउने कसरतमा लागेका छन् । सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने ।

सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा काँग्रेसका नेताहरुले चरणबद्ध रुपमा एमालेसँग छलफल गरिरहेका छन् । शनिबार प्रधानमन्त्री देउबाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।

यसैक्रममा प्रतिनिधिसभाको आज बस्ने बैठक एमसीसीका विषयमा महत्वपूर्ण मानिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ । शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरू एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन ।

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउने बताए । निर्धारित समयभित्र उनीहरूले आफ्नो धारणा राखेपछि सम्बन्धित मन्त्रीले छलफलमा उठेका जिज्ञासाको जवाफ दिनेछन्  र एमसीसीबारे मतविभाज प्रक्रिया शुरु हुनेछ ।

अमेरिकी सहयोग सम्झौता ‘एमसीसी’ पारित गर्नेबारे संस्थागत निर्णय गर्न सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ ।

सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निणर्य लिन बैठक डाकेका हुन् । माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा अहिले बिहान बस्दै छ भने एकीकृत समाजवादीले ११ बजे सचिवालय बैठक बोलाएको छ ।

एमसीसी सम्झौताबारे विवादमा आएका बुँदाहरुलाई कानुन ब्यवसायीहरुले ब्याख्यासहितको टिप्पणी तयार पार्ने र सोही ब्याख्यामा टेकेर सम्झौता पारित गर्ने गरी बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । तर, यी दुवै पार्टीभित्र एमसीसीको चर्को विरोध रहेकाले नेतृत्वलाई संस्थागत निर्णय गराउन हम्मेहम्मे पर्ने देखिएको छ । प्रतिनिधिसभा वैठकअघि नै एमसीसीबारे साझा धारणा तयार गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसको वैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL