Logo

प्रतितोला २५ सय रुपैयाँले महंगियो सुन, रुस-युक्रेन तनावको प्रभाव

प्रतितोला २५ सय रुपैयाँले महंगियो सुन, रुस-युक्रेन तनावको प्रभाव



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले उकालो लागेको छ । बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९९ हजार रुपैयाँ पुगेको हो ।

पछिल्लो समय रुस र युक्रेनबीच बढेको तनावका कारणले सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए । उनका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च वृद्धिसँगै उही समयमै नेपालमा पनि यसको मूल्य बढेको हो । उनले अझै यो मूल्य बढ्न सक्ने आँकलन गरेका छन् ।

‘हामीले नेपाली बजारमा सुनको मूल्य तोक्दासम्म अन्तरराष्ट्रिय बजारमा यसको मूल्य प्रतिऔंस हिजोको तुलनामा ३६ डलरले बढेको थियो,’ उनले भने, ‘सुनको मूल्यको वृद्धिदर हेर्दा अझै बढ्ने संकेत देखिएको छ ।’

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४८ को हाराहारीमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले उकालो लागेको छ । बुधबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १३ सय ५५ रुपैयाँ पुगेको हो । आज अन्तरराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३० डलरको आसपासमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL