Logo

डिजिटल भुक्तानीले सहज बन्दै भन्सार, पुषयता डिजिटलबाट ७ अर्ब ४० करोड भन्सार राजस्व संकलन

डिजिटल भुक्तानीले सहज बन्दै भन्सार, पुषयता डिजिटलबाट ७ अर्ब ४० करोड भन्सार राजस्व संकलन



काठमाडौं । नेपालका विभिन्न भन्सार कार्यालयबाट पहिलो महिनामै डिजिटल माध्यमबाट ७ अर्ब ४० करोड बढी राजस्व संकलन भएको छ । भन्सार विभागले गत पुष १ गतेदेखि वीरगंज सुक्खा बन्दरगाहबाट सुरु गरेको भन्सारको डिजिटल भुक्तानी हाल नेपालका सबै भन्सारमा लागु भएको छ । सोहीअनुसार पुषयता माघ मसान्तसम्म विभागले डिजिटल माध्यमबाटै करिव साढे ७ अर्ब राजस्व संकलन गरेको हो ।

गत पुष १ गते वीरगंज भन्सार कार्यालय र १२ गते देशभरका सबै भन्सार कार्यालयहरुमा डिजिटल राजस्व भुक्तानी सुरु गरिएको थियो । हाल भन्सार विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडिएको छ । विद्युतीय माध्यमबाट संकलनको सुरुवात भएसँगै इ पेमेन्टमार्फत विद्युतीय राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले जानकारी दिएको छ ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था यसमा छट । यस्तो हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीच मार्फत रियल टाईममा ३ अर्ब ४० करोड र एनसीएचएल–आईपिएस मार्फत नन् रियल टाईममा ४ अर्ब रुपैयाँ बराबरको संकलन भएको छ ।

भुक्तानी गर्नका लागि भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको आसिकुडा अनलाइन प्रणालीबाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं। प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिला गरि अनलाइन भुक्तानी गर्न सक्दछन् ।

यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ । भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस, कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्छन् । यो सेवा एनसिएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल ÷ ईन्टरनेट बैंकिङ तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाँड नै उपलब्ध हुने बताइएको छ । भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेकमार्फत हुने गरिन्थ्यो ।

देशभरका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४ प्रतिशत ओगटेको छ भने सरकारी करको हकमा ५० प्रतिशत योगदान गरेको छ । यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवा प्रवाहमा उल्लेखिय सुधार ल्याई विभागको ‘क्यासलेस र फेस लेस’ सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा विभागको छ ।

चालु आवको माघ मसान्तसम्म सरकारी राजस्वको अनलाइन संकलन १३ अर्ब २० करोड रुपैयाँ भएकोमा भन्सार विभागको एक महिनामै ५६ प्रतिशत योगदान रहेको छ । सरकारले गत आर्थिक बर्ष कुल राजस्व संकलन मध्ये १० प्रतिशत अनलाइन माध्यबाट संकलन गरेको थियो । आउँदो समयमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २–३ गुणाले बृद्धि हुने अपेक्षा गरिएको छ भने भन्सार विभागको अनलाइन संकलनले यसमा उल्लेख्य योगदान पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्