Logo

पोलबाट तार जोडिरहेका उपभोक्ताको मिटरबक्ससम्म भूमिगत केवल कसरी जोडने ? अध्ययन गर्दै विद्युत प्राधिकरण

पोलबाट तार जोडिरहेका उपभोक्ताको मिटरबक्ससम्म भूमिगत केवल कसरी जोडने ? अध्ययन गर्दै विद्युत प्राधिकरण



काठमाडौं । पछिल्लो समय विद्युत लाइन धमाधम भूमिगत (अण्डरग्राउण्ड) गरिरहेको नेपाल विद्युत प्राधिकरणले पोलबाट तार जोडिरहेका उपभोक्ताको मिटरबक्ससम्म भूमिगत केवल कसरी पुर्याउने उपयुक्त विकल्पबारे अध्ययन थालेको छ । उपभोक्ताको घरसम्मै भूमिगत तार पुर्याउनेगरी डिजाईनको अध्ययन गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले उपभोक्ताको घरको कम्पाउन्डसम्म भूमिगत तार विछ्याउने गरी काम अघि बढाएको हो । प्राधिकरणले हाल काठमाडौं उपत्यकालगायत मोफसलमा पनि सुरक्षा तथा शहरी सौन्दर्य अभिवृद्धिका लागि विद्युत तार भूमिगत गर्ने कार्य गरिरहेको छ । काठमाडौं उपत्यकामा करिव ५० प्रतिशत सम्पन्न भइसकेको तार भूमिगत गर्ने कार्य हाल मुख्य सडकहरुमा जारी छ । पहिले मुख्य र सहायक सडकका साईडहरुमा तार भूमिगत गरी बाँकी रहेका गल्ली र घरघरसम्म पुर्याउने प्रक्रिया अघि बढाईने प्राधिकरणको योजना रहेको छ ।

सोहीअनुसार सडकहरुमा काम लगभग आधा सकिएकाले अब घरसम्म पुर्याउने कार्यको अध्ययन सुरु भएको प्राधिकरणका उपकार्यकारी निर्देशक तारा प्रधानले बताए । उनका अनुसार उपभोक्ताको घरसम्मै तार लैजान पनि भूमिगत बाटो नै प्रयोग गर्नुपर्ने भएकाले प्राधिकरणले यसको अध्ययन तथा डिजाईन अघि बढाएको छ । ‘उपभोक्ताको मिटरबक्ससम्म तार पुर्याउने दायित्व प्राधिकरणको हो,’ उनले भने,‘त्यसैका लागि भन्दै हामीले डिजाईन बनाउने प्रक्रिया अघि बढाएका छौं । यसको लागि कम्तिमा ४ महिना लाग्ला ।’

अब ४ महिनापछि उपभोक्ताको घरघरसम्म जाने विद्युतीय लाईनका लागि अन्डरग्राउन्ड केबलको काम सुरु हुने उनको भनाई छ । पछिल्लो समय प्राधिकरणले मुख्य सडकहरुमा विद्युतीय लाइन भूमिगत गरिरहँदा उपभोक्ताको घरसम्म तार लैजान पुनः महंगो पर्ने, पुरानै शैलीमा एरिएल माध्यमबाट लैजानुपर्नेलगायतका बिषयहरुमा बहस बढ्दै गएको छ । सोही बहसलाई साम्य पार्नका लागि पनि प्राधिकरणले उपभोक्ताको घरैसम्म तार भूमिगत गर्ने कार्यको सुरुवात गर्न लागेको हो ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार काठमाडौं उपत्यकामा समग्रमा तार भूमिगत गर्ने कार्य ५० प्रतिशत सम्पन्न भइसकेको छ । हाल सडक विभागले चाँडो अनुमति नदिँदा रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने लाइनमात्रै भूमिगत गर्न ढिलाई भएपनि अन्य साइटमा काम सन्तोषजनक भइरहेको उनले बताए । हाल महाराजगंज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ५४ प्रतिशत काम सम्पन्न हुँदा पाईपिङको काम भने ६० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । हाल मुख्य सडकहरु जस्तै चक्रपथ, भित्री सडकलगायतमा सडक विभागले खन्ने अनुमति नदिँदा काममा ढिलाई भईरहेको उनको भनाई छ ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । हाल काठमाडौंका कलंकी, रत्नपार्क, महाराजगंज, चावहिल र भक्तपुर, ललितपुर वितरण केन्द्रअन्तर्गतका स्थानमा पनि विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढिसकेको प्राधिकरणका प्रवक्ता भट्टराईले बिजखबरलाई जानकारी दिए । उनका अनुसार उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भूमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ । यसरी शहरी सुन्दरतामा ह्रास ल्याउने लत्रिएका तार व्यवस्थापन गर्नका लागि सुरु गरिएको तार भूमिगत कार्य अब उपभोक्ताको घरघरसम्म पुग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL