Logo

आजदेखि सबै शैक्षिक संस्था खुला : सिनेमा हल, रात्रिकालीन व्यवसायलगायत पनि सञ्चालन हुँदै

आजदेखि सबै शैक्षिक संस्था खुला : सिनेमा हल, रात्रिकालीन व्यवसायलगायत पनि सञ्चालन हुँदै



काठमाडौ । कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् ।

कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो । त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।

देशभर भौतिक उपस्थितिमै पठन–पाठन

देशभरका शैक्षिक संस्थामा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन । सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ ।

शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८–१०–२३ को सिफारिस ‘विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुण १ गतेबाट सञ्चालन गर्ने ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने’ उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनु हुन निणर्यानुसार अनुरोध छ ।’कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन गरेका थिए । तर, विद्यार्थीहरुले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL