काठमाडौं । चितवनमा पुनः बर्डफ्लू रोगको सङ्क्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार अनुसार बर्डफ्लूको एचफाईभ एनवान सङ्क्रमण देखिएको हो ।
उक्त फर्ममा २ हजार कुखुरा छन् । उक्त फर्मको १ सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । फर्मको २ किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनले बताए । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए ।
बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाई छ । रासस