Logo

वाणिज्य मन्त्रालयको सय दिने कार्यक्रम लागू, विशेष प्राथमिकतामा निजी क्षेत्र

वाणिज्य मन्त्रालयको सय दिने कार्यक्रम लागू, विशेष प्राथमिकतामा निजी क्षेत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वाणिज्य मन्त्रालयले आगामी सय दिनमा गरिने कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापारका कार्यलाई छिटो र छरितो रूपमा अगाडि बढाउन कार्यक्रम सार्वजनिक गरेको हो । मन्त्रालयमा मङ्गलवार पत्रकार सम्मेलन गरी वाणिज्य मन्त्री दीपक बोहोराले नीति तथा रणनीति तर्जुमा र कार्यान्वयन, निर्यात प्रवद्र्धन, व्यापार मेला र वस्तु तथा सेवाको विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् ।

द्विपक्षीय र बहुपक्षीय वार्ता तथा सम्झौता, व्यापार सहजीकरण तथा सूचना प्रविधिको प्रयोग, व्यापारजन्य पूर्वाधारको निर्माण र निजी क्षेत्रसँगको समन्वयलाई विशेष प्राथमिकता दिएको बताइएको छ । कार्यक्रममा मन्त्री बोहोराले वाणिज्य नीति २०७२ को कार्यान्वयन योजना बनाई कार्यान्वयन गर्ने, नेपाल व्यापार एकीकरण रणनीतिको अध्यावधिक गरी मन्त्रिपरिषद्मा लगेर स्वीकृत गर्ने र निर्यात सम्भाव्य मुख्य वस्तुको निर्यात रणनीति तयार गरी लागू गर्ने बताए ।

कफी, चिया, अलैँची र अदुवालाई विशेष निर्यातजन्य वस्तुका रूपमा लिई प्रवद्र्धन गर्ने र तेस्रो मुलकमा दिइँदै आएको प्रोत्साहन तथा नगद अनुदानलाई प्रभावकारी बनाउन उद्योग मन्त्रालय र उद्योग विभागसँग समन्वय गरेर कार्यान्वयनमा ल्याउने कार्ययोजना बनाइएको छ ।

त्यस्तै कार्यक्रममा निर्यात हुने वस्तुको गुणस्तर परीक्षणका लागि विभिन्न स्थानमा प्रयोगशालाको स्थापना गर्ने, चाँदनी दोधारामा सुक्खा बन्दरगाह निर्माणका लागि प्रारम्भिक अध्ययन थाल्ने जानकारी दिइएको छ । रसुवाको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहका लागि जग्गा प्राप्ति गने १ सय दिनको कार्यक्रम भित्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL