काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा नेपालले तेस्रो मुलुकबाट भित्र्याउन वस्तुको परमाणमा उल्लेख्य वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालले गत आवको सोही अवधिको तुलनामा तेस्रो मुलुकबाट आयात गर्ने वस्तुको परिमाण ९८ प्रतिशतले वृद्धि गरेको हो । यस अवधिमा छिमेकी देश भारत र चीनबाट आउने वस्तुको परिमाणमा क्रमशः ३७ र ५१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा नेपालले विदेशबाट कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५१ प्रतिशतले बढि हो । जसमा सबैभन्दा बढि हिस्सा तेस्रो मुलुकबाट आयात हुने वस्तु वृद्धिको देखिन्छ । यस्तै यस अवधिमा नेपालबाट निर्यात हुने वस्तु भने जम्मा १ खर्ब १८ अर्ब २५ करोड रुपैयाँ बराबरको गएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ९५ प्रतिशतले बढि भएपनि व्यापारघाटा भने बढेकै देखिन्छ । पछिल्लो ६ महिनामा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यहोरेको छ । यो गत आवको तुलनामा ४६ दशमलव ६ प्रतिशतले बढि हो ।
नेपालले निर्यात गर्ने वस्तुको वृद्धिदर छिमेकी देश भारत र तेस्रो मुलुकमा बढी भएपनि चीनतर्फ भने घटेको बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार चालु आवको ६ महिनामा चीनतर्फ हुने आयात गत आवको तुलनामा १० दशमलव २ प्रतिशतले घटेको छ । यता भारत र तेस्रो मुलुक हुने निर्यातमा भने १२१ र ३० प्रतिशतको वृद्धि देखिन्छ ।