Logo

अर्थतन्त्रमा खतराको घण्टी : शोधनान्तर घाटा हालसम्मकै उच्च, अब साढे ६ महिनाको आयात मात्र धान्ने विदेशी मुद्रा संचितिमा

अर्थतन्त्रमा खतराको घण्टी : शोधनान्तर घाटा हालसम्मकै उच्च, अब साढे ६ महिनाको आयात मात्र धान्ने विदेशी मुद्रा संचितिमा



काठमाडौं । देशमा उच्च आयात तथा अन्य कारणले विदेशी मुद्रा विदेशीने क्रम बढेसँगै अर्थतन्त्रमा खतराको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको अर्धबार्षिक तथ्यांक अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । जुन हालसम्मकै उच्च हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता पनि ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँमले मात्र घाटामा रहेको थियो ।

यसैगरी सो अबधिमा विदेशी विनिमय संचितीमा पनि १६.७ प्रतिशतले कमि आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ ।

यसैगरी नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई १० खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५० अर्ब २१ करोड कायम भएको छ । २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।

हालको आयात र विदेशी मुद्रा संचितीलाई आधार मान्दा आर्थिक वर्ष २०७८-७९ बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

तर सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रुपैयाँ मात्र रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL