काठमाडौं । सरकारले गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । गाँजाको प्रयोग औषधी प्रयोजनका लागि फुकाउने तयारी भईरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् । गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको बताईएको छ ।
औषधि व्यवस्था ऐन २०३३ मा औषधी प्रयोजनका लागि गाँजा प्रयोग गर्न पाइने उल्लेख छ । औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाजा प्रयोग गर्नका लागि अनुमति मागेका छन् । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन् ।