Logo

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर हट्यो, फागुन १ देखि सबै क्षेत्र खुला

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर हट्यो, फागुन १ देखि सबै क्षेत्र खुला



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा निजी सवारी र टयाक्सीमा कायम रहेको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले गएराति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सार्वजनिक सवारीमा भने माघ १४ गतेबाट नै जोरविजोर खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो । यस्तै फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पूरा नभएका विद्यार्थीहरूको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्नेछ ।

फागुनदेखि रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्न पाइने भएको छ । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको हो ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्थाका गर्ने निर्णय गरिएको छ । त्यस्तै सोमबारदेखि पार्टी प्यालेसमा खोप लगाएका बढीमा सय जना भेला हुन पनि पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL