काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा दुई आईटी कम्पनीहरु विरुद्ध ३६ करोड रुपैयाँ विगो दाबीसहित मुद्धा दायर गरेको छ । विभागले आयलाई लुकाईछिपाई सरकारलाई कम भुक्तानी गरेको भन्दै नेपालीलगायत भारतीय दुई आइटी कम्पनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
ब्रिङ मिडिया डिष्ट्रब्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, कम्पनीका व्यवस्थापक सुरेन्द क्षेत्री र अर्का व्यवस्थाक सुमन क्षेत्रीमाथि कर छलीको मुद्दा दर्ता भएको विभागले जानकारी दिएको छ । अर्को कम्पनी स्टार इण्डिया प्रालि भारतको आधिकारिक बिक्रेता जुपिटर मिडिया प्रालिका प्रोप्राइटर अञ्जली अरोरविरुद्ध समेत विभागले मुद्दा दर्ता गरेको छ ।
व्यवसायिक कारोबारका लागि खोलिएको बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउनु पर्ने वास्तविक कारोबार नदेखाएको र नपाउने खर्च समेत दावी गरी मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दावी र आयकरतर्फ खर्च दावी गरी मूल्य अभिवृद्धि कर र आयकर दुवै छली गरेको अभियोग उनीहरुमाथि लागेको छ ।
विभागले उनीहरुमाथि मूल्य अभिवृद्धि करतर्फ ६ करोड ११ लाख ५५ हजार ५ सय १८ र १२ करोड १६ लाख २८ हजार २ सय ३७ रुपैयाँ आयकर गरी कुल १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ विगो कायम गरी शतप्रतिशत जरिवाना र सजाय माग्दै मुद्दा दर्ता गरिएको हो । विभागले सजाय र विगो गरी ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँ सजाय माग गरेको छ ।