काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१हजार ८ सय ८ जनाको नमूना परीक्षण गर्दा उक्त जनामा संक्रमण पुष्टि भएको हो ।
आज १५ हजार ७ सय ३६ जनाको पीसीआर र ६ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । गत २४ घण्टामा ५ हजार २ सय ९२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ३७ हजार ४ पुगेको छ । निको हुने दर ८९ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६८७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८४ दशमलव सात रहेको छ ।