Logo

सवारी लाइसेन्सको सकस : ट्रायल र परीक्षाबारे सूचना नपाउँदा लाखौं पीडित, अघिल्लो वर्ष बन्द भएको एसएमएस सेवा अझै शुरु भएन

सवारी लाइसेन्सको सकस : ट्रायल र परीक्षाबारे सूचना नपाउँदा लाखौं पीडित, अघिल्लो वर्ष बन्द भएको एसएमएस सेवा अझै शुरु भएन



काठमाडौं । काठमाडौं घट्टेकुलोका सविन त्रिपाठीले मोटरसाइकलको लाइसेन्सका लागि ३ पटक आवेदन दिए । तीनैपटक ट्रायल र परीक्षा दिन पाएनन् । उनले चौथोपटक हालै सवारीचालक अनुमति पत्रका लागि आवेदन दिएका छन् । पालो करिव डेढ बर्षपछि तोकिएको छ । यसअघि ३ पटक आवेदन दिएका उनले कार्यालय भिजिट गर्ने मितिको जानकारी नहुँदा समस्या खेपिरहनुपर्याे । यो समस्यालाई यातायात व्यवस्था विभागको लापरवाहीको पराकाष्ठा मान्छन् उनी ।

विभागले गत बर्षको मंसिर महिनासम्म सेवाग्राहीलाई मोबाइलमा एसएमएसमार्फत अनलाइन फारम भरेकोदेखि पास भएसम्मको जानकारी पठाउँथ्यो । तर, सोही समयदेखि बन्द गरिएको एसएमएस सेवा हालसम्म सुचारु हुन सकेको छैन । जसका कारण अनलाइनमार्फत सवारीको लाइसेन्सका लागि आवेदन दिएका धेरैजसो सेवाग्राही मर्कामा परेका छन् ।

विभागले समयमै सूचना नदिदा सवारीसाधनको लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन भरेका लाखौं सेवाग्राहीले समस्या भोग्नुपरेको छ । ‘मेरो आवेदन २ पटक रद्द भएर तेस्रोपल्ट भर्दैछु,’ चारपांग्रे सवारीको लाइसेन्सका लागि आवेदन दिएका मैतिदेवीका सुवास सुवेदीले भने, ‘सँधै भिजिट डेट सम्झेर राख्न पनि त सकिँदैन ।’

यातायात व्यवस्था विभागले कार्यालय भिजिटको मिति अनलाइन आवेदन दिने बेलामै तोकिदिएको हुन्छ । तर, कतिपय सेवाग्राहीको मिति लकडाउनको समयमा परेका तथा अन्य कारणले तलमाथि हुने गरेको छ । तर, त्यसको जानकारी सम्बन्धित सेवाग्राहीसम्म पुग्दैन र धेरैजसो सेवाग्राही फारम भर्ने बेला दिएको मितिमा कार्यालय भिजिट गर्न जाने योजनामा बस्ने गर्छन् । यसरी आफुलाई बोलाएको समयमा पुग्दा तपाईँको समय अस्ति नै गइसक्यो भन्ने जवाफ आउँछ । दैनिक अनलाइन फारम भर्ने हजारौंमध्ये ६० प्रतिशत सेवाग्राही मात्रै आफ्नो कार्यालय भिजिट मितिमा आउने र अन्यको छुट्ने गरेको स्वयं यातायात व्यवस्था विभाग बताउँछ । विभागका अनुसार फारम भरेका ६० प्रतिशतले मात्रै लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् । त्यसमध्ये २० देखि २५ प्रतिशत मात्रै लाइसेन्सका लागि उत्तीर्ण हुनेगरेका छन् ।

यी ६० प्रतिशत सेवाग्राही भने विभिन्न यातायात कार्यालयले खोलेका फेसबुक पेजको सूचनाका आधारमा आउने गरेका छन् । हाल एसएमएस सेवा बन्द भएपछि विभाग मातहतका देशभरका यातायात कार्यालयहरुले आफ्नै फेसबुक पेज खोलेका छन् । जसमार्फत कार्यालय भिजिट डेट, प्रयोगात्मक परीक्षाको मिति, लिखित परीक्षामा उत्तीर्ण हुनेहरुको नामावलीलगायत राखिएको हुन्छ । तर, धेरैजसो सेवाग्राहीहरु फेसबुक र यातायात कार्यालयहरुको पेजसम्म नपुग्ने भएकाले कार्यालय भिजिट डेट चुक्ने समस्या आएको विभागका प्राविधिक इन्जिनियर सन्तोस पोख्रेल बताउँछन् । उनका अनुसार गत बर्षको यही अवधिसम्म जानकी टेक्नोलोजीले विभागको एसएमएस सेवा संचालनको जिम्मेवारी पाएको थियो ।

कम्पनीको म्याद सकिएपछि विभागले सूचना प्रविधि विभागमा पत्र पठाईसकेको छ । सूचना प्रविधि विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा यातायात व्यवस्था विभागको बल्क एसएमएसको ठेक्का दिने बताइएको छ । त्यसका लागि विभागलाई अझै कम्तीमा १ महिनाको समय लाग्ने विभागले जानकारी दिएको छ । जानकी टेक्नोलोजीको म्याद सकिएको १ बर्ष वितिसक्दा पनि विभागले एसएमएस सेवा दिन नसकेपछि धेरै सेवाग्राहीहरु मर्कामा पर्नुपरेको छ । हाल विभागले फ्रान्सबाट ल्याईएको १४ लाख स्मार्ट लाइसेन्स छाप्ने काम अघि बढाएको छ । बिहान र बेलुका २ सिफ्टमा काम गर्दा प्रतिदिन ४ हजार ५ सय बढी कार्ड छपाई भइरहेको ईन्जिनियर पोख्रेलले बिजखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL