Logo

अब सेवाग्राहीलाई घरमै स्मार्ट लाइसेन्स : १४ लाख थान छपाई सुरु, नयाँलाई तत्कालै अस्थायी लाइसेन्स

अब सेवाग्राहीलाई घरमै स्मार्ट लाइसेन्स : १४ लाख थान छपाई सुरु, नयाँलाई तत्कालै अस्थायी लाइसेन्स



काठमाडौं । अब ट्रायल दिएर र नविकरण गरेर पनि लाइसेन्स नपाएका सवारीचालकहरुले घरमै स्मार्ट लाईसेन्स पाउने भएका छन् । यातायात व्यवस्था विभागले ७ महिनापछि (आज) देखि छाप्न सुरु गरेको सवारीचालक अनुमतिपत्र(स्मार्ट लाइसेन्स) अब हुलाकमार्फत नै सेवाग्राहीको घरघरमा पुर्याउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मंगलबारदेखि छाप्न सुरु गरिएको स्मार्ट लाइसेन्स अव घरघरमै पुर्याउने गरी तयारी थालिएको छ ।

विभागसँग स्मार्ट कार्डको अभाव हुँदा हालसम्म नविकरण गर्नेलाई र ट्रायल पास भएकालाई लाइसेन्स दिन सकिरहेको थिएन । फ्रान्सेली कम्पनीले गत महिनामात्रै नेपालमा ल्याएको १४ लाख स्मार्ट लाइसेन्सको छपाई आजदेखि सुरु गरेपछि उक्त कार्ड अव सेवाग्राहीको घरघरमा पुर्याइने भएको हो ।

विभागले मंगलबारदेखि छपाइ सुरु गर्न लागेको उक्त लाइसेन्स प्रतिघण्टा ४ सय ४० कार्ड छाप्नेछ । यस्तै प्रतिदिन ३ सिफ्टमा गरेर विभागले १० हजार बढि लाइसेन्स छापेर वितरण गर्ने बताएको छ । यातायात व्यवस्था विभागमा मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको सहभागितामा लाइसेन्स छपाईको औपचारिक सुरुवात गरिएको हो । विभागसँग भएका १४ लाख कार्डहरु तत्काल छापेर वितरण गर्न र सेवाग्राहीलाई मर्कामा नपार्न मन्त्री यादवले विभागलाई निर्देशनसमेत दिएकी छन् ।

हाल विभागमा लाइसेन्सको ट्रायल दिएर एक बर्ष पुगेका र नविकरण गरेर स्मार्ट लाइसेन्स नपाउनेको संख्या ४ लाख ५० हजार छ । उक्त संख्याका सेवाग्राहीले अव तत्कालै लाइसेन्स पाउने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । ‘हालसम्म लाइसेन्स नपाएका सेवाग्राहीले हालै उक्त लाइसेन्स पाउनुहुनेछ,’ उनले भने, ‘तर, नयाँ सेवाग्राहीले भने पिभीसी कार्ड ट्रायल पास हुनेवित्तीकै हातैमा पाउनुहुनेछ ।’

विभागले नयाँ अनलाइन आवेदन भरेर ट्रायल दिएका नयाँ सेवाग्राहीलाई भने अस्थायी लाइसेन्स दिँदै आएको छ । क्युआर कोड स्क्यान गरी सेवाग्राहीको सबै जानकारी हेर्न सकिने यस्तो कार्डको म्याद १ बर्षको हुने र त्यसपश्चात सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउने विभागले जानकारी दिएको छ । हाल देशभरका यातायात कार्यालयहरुले नयाँ सेवाग्राहीलाई दिईने यस्ता कार्डहरु आफै छापेर वितरण गर्ने गरेका छन् । यो १ मिनेटमै छापिन्छ ।

पछिल्लो समय सेवाग्राहीको संख्या बढ्दै गएको र स्मार्ट कार्डको अभाव चुलिँदै गएपछि विभागले अस्थायी कार्डको अवधारणा ल्याएको थियो । स्मार्ट लाइसेन्स पाउनका लागि नयाँ सेवाग्राहीले १ बर्षसम्म अस्थायी कार्डको प्रयोग गरेको हुनुपर्नेछ । त्यसपश्चात भने सेवाग्राहीले हातैमा स्मार्ट लाइसेन्स पाउनेछ । हाल दैनिक ६ हजार ८ सय ४ जनाले लाइसेन्सका लागि अनलाईन आवेदन भर्ने गरेको विभागका ईन्जिनियर सन्तोष पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL