Logo

पेट्रोलियम वितरणको मापदण्ड बनाउन अख्तियारको निर्देशन, भिआईपीलाई जथाभावी दिएकोमा आपत्ती

पेट्रोलियम वितरणको मापदण्ड बनाउन अख्तियारको निर्देशन, भिआईपीलाई जथाभावी दिएकोमा आपत्ती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम वितरणका लागि स्पष्ट मापदण्ड बनाउन दिर्नेशन दिएको छ । हाल भीआईपीको नाममा जथाभावी पेट्रोलियम वितरण भइरहेको भन्दै आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई उक्त निर्देशन दिइएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । ‘हाल भीआईपीको नाममा जथाभावी पेट्रोलियम पदार्थ वितरण भइरहेको भेटियो,’ उनले भने, ‘तसर्थ कुन तहका भीआईपीलाई कसरी वितरण गर्ने हो सो विषयमा समेत स्पष्ट मापदण्ड बनाउन निर्देशन गरेका छौं ।’

अख्तियारले आपूर्ति मन्त्रालयका सचिव तथा सहसचिव, आयाल निगमका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीहरुलाई बोलाएर पेट्रोलियम वितरणका सम्बन्धमा छलफल गरेको थियो । साथै, आगामी दिनमा भीआईपी तथा इमर्जेन्सी सेवाका लागि कसरी पेट्रोलियम वितरण गरिन्छ सोको सम्पूर्ण लगत तयार पार्न समेत निर्देशन दिएको छ ।

साथै, अख्तियारले पेट्रोलियम वितरणका सम्बन्धमा निगमकै प्रतिनिधि वसेर वाड्न समेत निर्देशन दिएको छ । ‘निगमले १० हजार लिटर पठाएको पम्पबाट २ हजार लिटरमात्र वितरण भयो भन्ने गुनासो आएको छ,’ उनले भने, ‘तसर्थ कुन पम्पमा कति पठाइयो र कति वितरण भयो भन्ने कुरा निगमकै प्रतिनिधिबाट प्रमाणिकरण गर्न समेत निर्देशन दिइएको छ ।’

हाल थानकोट डिपोमा पेट्रोलियम मौज्दात धेरै रहको र त्यसलाई न्यायोचित तरिकाबाट तत्काल वितरण गर्न समेत निर्देशन दिएको छ । हाल निगमले काठमाडौं उपत्यकालाई मात्र प्राथमिकता दिएर पेट्रोलियम वितरण गर्दै आएको छ । तर, आगामी दिनमा अन्य जिल्लाहरुलाई पनि प्राथमिकता दिएर वितरण गर्न निर्देशन दिइएको पुष्करले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL