Logo

बीमा कम्पनीको चुक्ता पूँजी दोब्बर बढीले बढाईँदै, पुराना कम्पनीले बोनस र मर्जरबाट पुर्याउनुपर्ने

बीमा कम्पनीको चुक्ता पूँजी दोब्बर बढीले बढाईँदै, पुराना कम्पनीले बोनस र मर्जरबाट पुर्याउनुपर्ने



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने भएको छ । हाल बीमा कम्पनीको चुक्ता पुँजी दोब्बरभन्दा बढीले वृद्धि गर्ने विषयमा छलफल भैरहेको बीमा समितिले जानकारी दिएको छ ।

हाल बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने विषयमा छलफल अघि बढाएको छ । हाल निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । तर समितिले जीवन र निर्जीवन बीम कम्पनीको चुक्ता पुँजी दोब्बर भन्दा बढीले वृद्धि गर्न लागेको हो ।

हाल बीमा समितिले निर्जीवन, जीवन र लघु बीमा कम्पनीको नयाँ लाईसेन्स वितरण गर्दै छ । सो भन्दा अघि नै बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्न लागेको हो । बीमा कम्पनीको क्षमता वृद्धिका लागि पनि चुक्ता पुँजी वृद्धि गर्न लागिएको बीमा समितिका अध्यक्ष सुर्य सिलवालले बताए । ‘केही समयअघि राष्ट्र बैंकले पनि बैंकलाई बलियो बनाउन चुक्ता पुँजी २ अर्बबाट बढाएर एकै पटक ८ अर्ब रुपैयाँ पुर्याएको थियो,’ उनले भने, ‘त्यसैगरी हामीले पनि बीमा कम्पनीलाई बलियो बनाउन चुक्ता पुँजी बढाउन लागेका हौं ।’ तर यस विषयमा विस्तृत रुपमा छलफल हुन बाँकी नै रहेको उनले जानकारी दिए ।

यसैगरी बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको विषय अन्तिम चरणमा पुगेको र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याइने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । साथै निर्जीवन बीमा कम्पनीको पनि सोही अनुरुप चुक्ता पुँजी वृद्धि गरिने छ ।

समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्दा नयाँ लाईसेन्स लिनेको हकमा तत्काल लागू गरिने छ भने पुराना संलानमा आएका कम्पनीका हकमा भने केही समय दिईने छ । तर पुराना कम्पनीलाई पनि हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी वृद्धि गर्न नदिईने बीमा समिति स्रोतले जानकारी दिएको छ । ‘हाल संचालनमा रहेका बीमा कम्पनीले बोनस सेयर दिएर वा मर्जरबाट चुक्ता पुँजी वृद्धि गर्नुपर्ने हुन्छ,’ समिति स्रोतले भन्यो, ‘तर त्यसका लागि निश्चित समय दिईने छ ।’ हाल समितिले नयाँ बीमा कम्पनीको लाईसेन्स जारीका लागि अन्तिम तयारी गरिरहेको छ । साथै केही दिनभित्रै नयाँ लाईसेन्स वितरणका लागि आवेदन माग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL