Logo

८ गतेबाट ‘फुल सिलिण्डर’ ग्याँस वितरण गर्दै उद्योगी

८ गतेबाट ‘फुल सिलिण्डर’ ग्याँस वितरण गर्दै उद्योगी


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । उद्योगीहरुले माघ ८ गतेदेखि ‘फुल सिलिण्डर’ ग्याँस वितरण गर्ने भएका छन् । आधा सिलिण्डर ग्याँस वितरण गर्दा विकृति मौलाएको भन्दै आगामी दिनमा फुल सिलिण्डर मात्र भर्न लागिएको नेपाल ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘हाफ सिलिण्डर ग्याँस दिँदा उपभोक्ताले होल्ड गर्ने प्रबृत्ति बढ्यो,’ उनले भने, ‘जसले गर्दा बजारमा सिलिण्डर समेत सटेज भएको छ ।’

आधा सिलिण्डर ग्याँस भर्दा उद्योगी, वितरक तथा उपभोक्ता सवैलाई समस्या उत्पन्न भएको घिमिरेले जानकारी दिए । ‘उद्योगी र वितरकलाई लागत खर्च बढी पर्नुका साथै वितरण गर्न समेत कठिनाइ भइरहेको छ,’ उनले भने, ‘यता उपभोक्तालाई पनि एउटा सिलिण्डर ग्याँस ल्याएर जोड्ने वित्तिकै अर्को खोज्न हिड्नुपर्ने वाध्यता छ ।’ आधा सिलिण्डर ग्याँसले २ हप्ता पनि नचल्ने हुँदा उपभोक्तालाई समेत सास्ती भएको उनले जानकारी दिए ।

घिमिरेका अनुसार भरी सिलिण्डर ग्याँस भर्नका लागि स्वीकृति लिन संघले विभिन्न सरोकारवाला निकायमा निवेदन दिइसकेको छ । ‘हामीले वाणिज्य मन्त्रालय, नेपाल आयल निगमलगायतका सरोकारावालामा निकायमा १ हप्ता अघि नै निवेदन दिएका छौं,’ उनले भने, ‘उनीहरुले स्वीकृति नदिएपनि संघको तर्फबाट सुचना निकालेर ८ गतेबाट कार्यान्वयमा ल्याउने छौं ।’

आधा सिलिण्डर ग्याँस वितरण गर्दा सवै पक्षलाई समस्या परेको एचपी ग्याँसको वितरक मेगा ट्रेड कन्सर्नका प्रोपाइटर तथा नेपाल चेम्बर अफ कमर्शका सचिव सन्तोष पाण्डेले बताए । ‘पहिलाको तुलनामा ग्याँस भित्रने क्रम बढेको छ,’ उनले भने, ‘भरी सिलिण्डर ग्याँस वितरण गर्दा उद्योगी तथा उपभोक्ता दुवैलाई फाइदा पुग्ने छ ।’

तराइ आन्दोलन तथा भारतीय नाकाबन्दी यता अघिल्लो वर्षको तुलनामा ग्याँस आयात घटेर ११ प्रतिशतमा झरेको थियो । तर, पुस महिनामा आयात हुने क्रम बढेर झण्डै ३७ प्रतिशतमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्