Logo

ग्राहकले समस्या नबुझ्दा प्राधिकरणलाई हैरानी, यसकारण जान्छ समय-समयमा बिजुली

ग्राहकले समस्या नबुझ्दा प्राधिकरणलाई हैरानी, यसकारण जान्छ समय-समयमा बिजुली



काठमाडौं । नेपालमा उत्पादित विजुली खपत हनु नसकेर खेर गएको भन्दै सरकार यसको खपत बढाउन लागिपरेको छ । उर्जामन्त्रीदेखि स्वयं निजी क्षेत्रका उर्जा उत्पादकहरु पनि उर्जा खपत वृद्धिका लागि गहन हनु थालेका छन् । तर, पछिल्लो केही दिनयता भने काठमाडौंकै धेरै स्थानमा बत्ती जाने आउने हुन थालेको छ ।

हिजो शनिबार मात्रै काठमाडौंको बुढानीलकण्ठ सब वितरणको शिवपुरी फिडर अन्तर्गतका सबैजसो स्थानमा करिव दिनभरी नै बत्ती गयो । त्यहिदिन उक्त वितरण केन्द्रकै तारेभिर फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि त्यसरी नै बत्ती गएको थियो । नेपाल विद्युत प्राधिकरणले बिहानै यसका लागि सूचना निकालेको छ । सूचनामा जम्मा आधा घण्टा मात्रै बत्ति जाने उल्लेख गरेपनि करिव ४ घण्टासम्म बत्ति गएको स्थानीय बताउँछन् । ‘बिहान ११ बजे गएको बत्ती बेलुकी ४ बजे मात्रै आयो,’ टोखा पंचेटार निवासी शम्भु डंगोलले भने, ‘अघोषित लोडसेडिङजस्तो भयो कति धेरै काम गरौंला भन्ने थियो ।’

यस्तै शनिबार नै काठमाडौंको किर्तिपुर क्षेत्रमा पनि त्यसैगरी लाईन काटियो । यी सबै पछिल्लो समय बढाईएको मर्मतसम्भारका कारण भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेन्द्रबहादुर भट्टराई बताउँछन् । उनका अनुसार आफ्नो क्षेत्रमा बत्ती किन गयो र कहिले आउँछ लगायतक प्रश्नहरु सम्बन्धित वितरण केन्द्रहरुमा सोधको खण्डमा थाहा पाउन सकिन्छ । तर, विद्युतका सेवाग्राहीहरु भने बेलाबेलाका झ्याप्प झ्याप्प बत्ती गएर मर्कामा परिरहेको बताउँछन् । ‘कहिले नुहाउँदा नुहाउँदै बत्ती गईदिन्छ, कहिले काम गर्नेबेलामा गईदिन्छ’ एक सेवाग्राहीले भने, ‘पूर्व सूचनाविनै यसरी बत्ती जाने आउने भएपछि धेरै कामहरु विग्रेका पनि छन् ।’

पछिल्लो समय सरकारले जाडो सुरु भएपछि नेपालकै विजुलीले माग धान्न नपुगेपछि भारतबाट विजुली आयात गरेर खपत सन्तुलन गरिरहेको छ । यसरी आयात गरेको विजुलीले खपत धान्ने भएपछि सेवाग्राहीहरु पनि त्यहीमाथि शंका गर्ने गरेको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार सेवाग्राहीले विद्युत प्राधिकरणको मर्म नबुझिदिएर पनि समस्या भएको छ । ‘हामीले पछिल्लो समय मर्मतसम्भारलाई तीव्रता दिएकाले शटडाउन गरेर मर्मत गर्नुपरेकाले बत्ती जाने आउने गरेको हो,’ उनले भने, ‘हामीले यस्ता कामहरु खास विदाको दिनमा मात्रै गर्छौं, त्यो सेवाग्राहीले पनि बुझिदिनुपर्यो ।’

हाल नेपालमा विद्युतको झण्डै २७ हजार ३ सय ७९ मेगावाट आवरको माग छ । जसमा नेपाल विद्युत प्राधिकरणबाट ९ हजार ४६ मेगावाट आवर, प्राधिकरण मातहतका कम्पनीबाट ५ हजार ५८ मेगावाट आवर विद्युत उत्पादन भईरहेको छ । यस्तै जाडो महिना सुरु भएपछि नेपालमा नदि प्रवाहमा आधारित आयोजनाबाट कम विजुली उत्पादन हुनेभएपछि माग धान्न हाल ३ हजार ८ सय ७ मेगावाट आवर विजुली आयात गरिँदै आएको छ । साथै निजी क्षेत्रका आयोजनाबाट ९ हजार ४ सय ६९ मेगावाटआवर विजुली उत्पादत भईरहेको छ । यसरी नेपालमा खपत हुने विजुलीको माग धान्न प्राधिकरणले भारतबाट पनि विजुली आयात एक हप्ता अघिदेखि मात्रै थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL