Logo

सहुलियतपूर्ण कर्जामा आकर्षण : चार महिनामा २ खर्ब ५ अर्बको कर्जा प्रवाह, सबैभन्दा बढी कृषिमा

सहुलियतपूर्ण कर्जामा आकर्षण : चार महिनामा २ खर्ब ५ अर्बको कर्जा प्रवाह, सबैभन्दा बढी कृषिमा



काठमाडौं । सरकारले नेपाली युवाहरुलाई स्वरोजगार, उद्यमशील र कृषिमा आकर्षित गर्न ल्याइएको ब्याज अनुदान कर्जामा मोह बढेको छ । सरकारले नेपालमै केही गर्न चाहने युवाहरुलाई लक्षित गरि बैंकमार्फत विभिन्न शीर्षकमा प्रवाह हुने कर्जामा अनुदान दिने गरेको छ । पछिल्लो समय बैंकहरुबाट सहुलियतपूर्ण कर्जा प्रवाह उच्च भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ४ महिनाको तथ्यांकले पनि यसको पुष्टि गर्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको पछिल्लो ४ महिना (साउनदेखि कात्तिकसम्म) २ खर्ब ५ अर्ब रुपैयाँ बढी सहुलियतपुर्ण कर्जा प्रवाह भएको छ । ४ महिनामा भएको यस्तो कर्जा गत बर्षको यही अवधिको तुलनामा १२७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको पहिलो ४ महिनामा विभिन्न बैंकहरुले यस्तो कर्जा १ खर्ब ६१ अर्ब ४३ करोड रुपैयाँ बराबर प्रवाह गरेका थिए ।

यस्तो कर्जा लिने सेवाग्राहीको संख्यामा समेत वृद्धि भएको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार गत आर्थिक बर्षको पहिलो ४ महिनामा सहुलियतपुर्ण कर्जा लिनेको संख्या १ लाख ४ हजार १ सय ९ जना थियो । चालु आवको सोही अवधिमा उक्त संख्या बढेर १ लाख ३३ हजार ९ सय ३० पुगेको छ । यस्तै अघिल्लो आर्थिक बर्ष २०७६÷७७ मा सहुलियतपुर्ण कर्जा जम्मा ३२ हजार ४ सय ४८ जनाले ५९ अर्ब ५६ करोड रुपैयाँ लिएको देखिन्छ । यसको वृद्धिदर हेर्दा पनि अघिल्लो बर्षको पहिलो ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यस्तो कर्जा प्रवाहमा ३ सय ४४ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा

नेपाल राष्ट्र बैंकले ब्याजमा अनुदान दिनेगरी विभिन्न १० प्रकारका कर्जालाई सहुलियतपुर्ण कर्जा पाउने सूचीमा राखेको छ । जसमा सबैभन्दा बढी कर्जा प्रवाह व्यवसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा भएको देखिन्छ । युवाहरुलाई कृषिमा आकर्षित गर्नका लागि राखिएको उक्त शीर्षकमा चालु आवको ४ महिनामा मात्रै १ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ बढीको कर्जा प्रवाह भएको छ ।

यो ४ महिनामा स्विकृत भएको कुल सहुलियतपुर्ण कर्जाको ६३ प्रतिशत हो । अर्थात कुल सहुलियतपुर्ण कर्जाको ६३ प्रतिशत हिस्सा व्यवसायिक कृषि तथा पशुपालन कर्जाले ओगटेको देखिन्छ । यो शीर्षकको कर्जा पनि पछिल्लो ३ बर्षयता बढीरहेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो ४ महिनामा ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको मात्रै प्रवाह भएको यस्तो कर्जा गत आवको पहिलो ४ महिनामा भने १ खर्ब ६ अर्ब ९७ करोड पुगेको थियो । यस्तो कर्जा यो बर्षको पहिलो ४ महिनामा ५५ हजार १ सय १६ व्यक्ति÷संस्थाले लिएका छन् ।

भूकम्पपीडितलाई दिइने कर्जा घट्दो

पछिल्लो समय सहुलियतपुर्ण कर्जाका अन्य शीर्षकमा प्रवाह हुने कर्जा उकालो लागिरहेपनि भूकम्पपीडितलाई घर बनाउन दिईने कर्जा प्रवाह भने घटेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको पहिलो ४ महिनामा ५ करोड ४७ लाख रुपैयाँ बराबरको कर्जा यो शीर्षकमा प्रवाह भएपनि गत आवमा भने घटेर ४ करोड ९४ लाख रुपैयाँ बराबर मात्रै प्रवाह भएको देखिन्छ । यस्तै चालु आवको ४ महिनामा भने गत आवको तुलनामा पनि घटेर ४ करोड २६ लाख रुपैयाँ मात्रै प्रवाह भएको देखिन्छ । यता यस्तो केजा लिने कर्जावाहकको संख्या भने अघिल्लो आवदेखि हालसम्म क्रमशः २२१, २३१ र २२१ जना रहेको छ ।

यता धेरै सहुलियतपुर्ण कर्जा प्रवाह हुने शीर्षकहरुमध्ये दोस्रो स्थानम भने महिला उद्यमशील कर्जा छ । यो शीर्षकमा पछिल्लो ४ महिनामा मात्रै ७१ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा ७६ हजार २० जना महिलाले यस्तो कर्जा लिएको तथ्यांका देखिन्छ । यस्तै कपडा उद्योगीलाई दिने कर्जा २ अर्ब २० करोड, वैदेशिक रोजगारबाट फर्केका युवालाई दिईने कर्जा ६४ करोड ६२ लाख र दलित समुदाय व्यवसाय विकास कर्जावापत ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कर्जा प्रवा भएको देखिन्छ । यसका साथै शिक्षित युवा स्वरोजगार कर्जा, उच्च शिक्षा कर्जा र सीटीईभीटीबाट ट्रेनिङ लिनका लागि दिईने कर्जापनि त्यहि अनुसार प्रवाह भएको तथ्यांकमा देखिन्छ ।

नेपाल राष्ट्र बैंकले २०७५ सालमा ‘सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागु गर्दै यस्ता कर्जाहरु प्रवाह गर्ने नीति अघि सारेको थियो । यस्तो कर्जामा कर्जाको ब्याजभन्दाबाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन नपाइने कार्यविधिमा प्रस्ट छ । बैंकले लिने व्याजमा पनि ५ प्रतिशत सरकारले अनुदान दिने गर्दछ । यदी बैंकले ८ प्रतिशत व्याज तोकेको खण्डमा ऋणीले ३ प्रतिशत मात्रै ब्याज तिरे पुग्छ । जसका कारण पछिल्लो समय यो कर्जामा ऋणीहरुको आकर्षण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL