Logo

महंगियो नेपालीको भान्सा, तेलजन्य वस्तुको मूल्यवृद्धि २९ प्रतिशत पुग्यो

महंगियो नेपालीको भान्सा, तेलजन्य वस्तुको मूल्यवृद्धि २९ प्रतिशत पुग्यो



काठमाडौं । चालु आर्थिक बर्षको ४ महिनामा गत आवको सोही अवधिको तुलनाम धेरैजसो खाद्य वस्तुको मूल्यवृद्धि आकाशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ४ महिनासम्मको तथ्यांक अनुसार केही वस्तुहरुको मूल्यवृद्धि २९ प्रतिशतसम्म पुगेको छ ।

पछिल्लो ४ महिनामा नेपालमा समग्र मूल्यवृद्धिदर (मुदास्फिति) ५ दशमलव ३२ प्रतिशत पुगेको छ । गत आवको यही अवधिमा समग्र मूल्यवृद्धिदर ४ दशमलव ०५ प्रतिशत रहेको थियो । यस्तै चालु आवको चौथो महिना अर्थात कात्तिक महिनामा नेपालमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिदर ४ दशमलव ७९ प्रतिशत पुग्दा गैरखाद्य पदार्थको मूल्यवृद्धिदर ५ दशमलव ७३ प्रतिशत पुगेको छ ।

यस्तै चालु आवको कात्तिक महिनामा घ्यु तेलको मूल्यवृद्धि २९ दशमलव ११ प्रतिशत पुगेको छ । यस्तै यातायात, माछामासु, गैर मदिराजन्य पेयपदार्थ, सुर्तिजन्य वस्तु र दाल तथा गेडागुडीजन्य बस्तुको मूल्यवृद्धि क्रमशः १२ दशमलव ३६, १० दशमलव ९१, १० दशमलव ७०, १० दशमलव ३० र १० दशमलव २४ प्रतिशतले बढेको छ ।

क्षेत्रका आधारमा हेर्दा कात्तिक महिनामा काठमाडौं उपत्यकामा मुद्रास्फिति ६ दशमलव १४ प्रतिशत, तराईमा ३ दशमलव ९५ प्रतिशत, पहाडमा ७ दशमलव १४ प्रतिशत र हिमालमा ५ प्रतिशत पुगेको छ । गत बर्ष यहि अवधिमा यी क्षेत्रमा मूल्यवृद्धि क्रमशः ३ दशमलव ३९, ४ दशमलव ६९, ३ दशमलव ६४ र ४ दशमलव ३२ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्