Logo

तीन महिनामा ८५२ बस्तुका नमूना सङ्कलन, राजमार्गका होटलको २ हजार पटक अनुगमन

तीन महिनामा ८५२ बस्तुका नमूना सङ्कलन, राजमार्गका होटलको २ हजार पटक अनुगमन



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा (तीन महिनामा साउन १ गतेदेखि असोज मसान्तसम्म) ८ सय ५२ नमूना सङ्कलन गरेको छ ।

पहिलो ३ महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार उक्त बस्तुको नमूना सङ्कलन गरिएको विभागले जनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार तीन महिनाको अवधिमा विभिन्न खाद्य पदार्थमा २७ मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ ।

विभागले दायर गरेका मुद्दामध्येमा दूध तथा दुग्ध पदार्थका ९, मसला पदार्थका ५, खाद्यान्न एवं दलहन तथा सोबाट बनेका पदार्थ ५, प्रशोधित पिउने पानीका ३, चियाका २, सोयासस, तेल र दानाका एक/एक रहेका छन् । उक्त मुद्दामध्येमा ११ दूषितका, ९ मुद्दा न्यून गुणस्तरका र ६ मुद्दा लेवललगायतका विवरण नमिलेका मुद्दा दर्ता भएका जनाइएको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था छ ।

विभागले ३ महिनाको अवधिमा देशभरका आठ कार्यालय र २२ डिभिजन कार्यालय गरी ४३ कार्यालयबाट नियमित रुपमा बजार अनुगमन गर्दै आएको जनाएको छ । ४३ कार्यालयले तीन महिनाको अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ८५२ नमूना सङ्कलन गरेका थिए । उक्त सङ्कलित नमूनामध्ये खाद्यान्न/दलहनजन्यका १३१, तेल तथा ध्यूजन्यका ९४, फल तथा सागपातजन्य पदार्थ ७४, दाना पदार्थका ४५, मसलाका ४०, चिया कफिका २८, दूध तथा दुग्धपदार्थका २१, प्रशोधित पिउने पानीका ४० र कन्फेक्सनरिका १६ नमूना रहेका थिए । परीक्षण गरिएका नमूनामध्ये ३६ नमूना मात्रै प्रतिकूल रहेको प्रवक्ता महर्जनले जानकारी दिए ।

उनका अनुसार प्रतिकूल रहेकामा खाद्यान्नका ८ नमूना, प्रशोधित पिउने पानीका ७, दूध तथा दुग्ध पदार्थका ४, दानापदार्थका ४ नमूनालगायतका अन्य खाद्य पदार्थ रहेका छन् ।

दाना उद्योग तथा राजमार्गका होटलको दुई हजार पटक अनुगमन

विभागले ३ महिनाको अवधिमा खाद्य/दाना उद्योग, होटल रेष्टुरेन्ट, राजमार्गका होटल अनुमगन तथा उजुरीमा तत्काल सम्बोधन टोलमार्फत् २ हजार ३६ पटक अनुगमन गरी कारबाही गरिएको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार विभाग तथा मातहतका कार्यालयबाट ४२ होटल, रेष्टुरेन्टस्तरीकरण गरिएकामा २ प्रतिशतले अत्ति उत्तमस्तर पाउन सफल भएको छ भने सातले उत्तम, २३ ले सन्तोषजनक, सातले सामान्यस्तर र तीन होटल तथा रेष्टुरेन्ट स्तरीकरणमा नपरेको पाइएको छ ।

विभागले तीन महिनाको अवधिमा १२ विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३१० नमूना प्राप्त भई जाँच विश्लेषण गरी नियमन गरिएको तथ्याङ्कमा उल्लेख छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL