Logo

काठमाडौंमा ट्राफिक जाम अत्यासलाग्दो बन्दै, व्यवस्थापनमा कस–कसको छ कमजोरी ?

काठमाडौंमा ट्राफिक जाम अत्यासलाग्दो बन्दै, व्यवस्थापनमा कस–कसको छ कमजोरी ?



काठमाडौं । बिहीबार बिहानै काँडाघारी बस्ने प्रकाश सुवेदी गोंगबु जान लागे । काँडाघारीबाट बिहान ९ बजे गाडी चढेका उनी गन्तव्यमा भने १२ बजे मात्र पुगे । उनी काँडाघारीदेखि गोंगबुसम्म पुग्दा जडिबुटी चोक, कोटेश्वर चोक, तीनकुने, सिनामंगललगायतका हरेक चोकमा लामो ट्राफिक जाम पर्याे । अहिले काठमाडौं उपत्यकाका हरेक चोकमा चर्काे सवारीजाम हुन थालेको छ ।

लकडाउनपछि सवारीको चाप सडकमा निकै बढदा जाम बढेको नेपाल ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता संजीव शर्मा दास बताउँछन् । उनका अनुसार पछिल्ला बर्षहरुमा अत्याधिक रुपमा बढेको सवारीसाधन आयात र साँघुरो सडकका कारण काठमाडौं उपत्यकामा दिनप्रतिदिन सवारीजाम बढ्दै जाने देखिन्छ ।

पूर्वाधार निर्माणमा विशेष जोड नदिँदा र गाडी आयातमा सीमितता नहुँदा यस्तो समस्या निम्तिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘सरकारले जसरी जुनसुकै गाडी आयात खुला गरिरहेको छ त्यहीअनुसारको पूर्वाधार निर्माण गरिरहेको छैन,’ उनले भने, ‘यसले हामीलाई पनि ठुलो मारमा पारेको छ, पहिले पहिले काठमाडौंमा दिनमा १० ट्रिप गर्ने हाम्रा गाडीले जामकै कारण दिनमा जम्मा २ देखि ३ ट्रिपमात्रै गर्न भ्याउँछन् ।’

कति छन् काठमाडौंमा गाडी ?

ट्राफिक प्रहरीका प्रवक्ता शर्मा दासको भनाईलाई मान्दा काठमाडौैं उपत्यकामा १८ लाख २० हजार बढी सवारीसाधन गुड्ने गर्दछन् । तर हाल सडकमा त्यसको ६० प्रतिशत सवारीसाधन मात्रै गुड्छन् । यदि सबै १८ लाख २० हजार गाडी नै सडकमा निश्केका बेलामा सवारीसाधन हल्लिनै नसक्नेगरी जाम हुनसक्ने उनको अनुमान छ । अव्यवस्थित पार्किङ, लेन अनुशासन, न्यून जरिवानालगायतका कुराहरुले सवारी जामको समस्याको आगोमा केही घ्यु थपेको उनको भनाई छ । उनले पनि सवारीसाधनको संख्या बढेजसरी पूर्वाधार निर्माणमा जोड नदिएकाले नै उपत्यकामा ट्राफिक जामको समस्या चुलिँदै गएको बताए ।

यदि पूर्वाधार निर्माणमा तिव्र जोड नदिईकनै व्यवस्थपन गर्न खोजियो भने पनि त्यसलाई मुर्खताको सन्देश दिनुपर्ने उनी बताउँछन् । केही हदसम्म भएपनि अहिलेकै पूर्वाधारमा जाम कम गर्नका लागि भने ट्राफिक अनुशासन कडाइका साथ पालना गर्नुपर्ने उनको भनाई छ । ‘पछिल्लो समय बढ्दो लेन, पार्किङलगायतका अनुशासन मिच्नाले पनि केही जाम हुनेगरेको छ,’ उनले भने, ‘यसका लागि कारबाही गर्दाखेरिको जरिवाना बढाउनुपर्ने देखिन्छ, जसकारण केही हदसम्म मात्रै ट्राफिक जाम घटाउन सकिएला ।’ उनले हाल पनि उपत्यकामा धेरै जाम भएको स्थानमा बढीमा ९ मिनेटमात्रै बस्नुपरेको बताए ।

छैन व्यवस्थापन

सडकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने गाडी आयातलाई घटाउनुपर्ने सल्लाह दिन्छन् । सरकारले रिक्सा, साईकलदेखि ठुला गाडीसम्म आयात गरिरहेको र त्यसको व्यवस्थापन सहीअनुरुप नभएकाले जाम बढेको उनको आरोप छ । विभिन्न देशबाट आयात गरिएका कस्ता गाडीहरु कस्तो रुटमा चल्ने भन्ने रुटसमेत एकिन नगरेकाले पनि जामको समस्या निम्तिएको देखिन्छ । ‘सरकारले गाडी आयातको तथ्यांक त बढायो तर, त्यही अनुसार व्यवस्थापन र सडक विस्तारमा ध्यान दिएन,‘ उनले भने, ‘विदेशमा सार्वजनिक सवारीसाधन गुड्नका लागि छुट्टै लेन तोकिएको हुन्छ जसका कारण सार्वजनिक बसहरु तोकिएको समयमा गन्तव्यमा पुग्छन् यात्रुलाईसमेत सास्ती हुँदैन ।’

पछिल्लो समय बढेको सवारी जामका कारण एकातिर इन्धनको खपत बढेसँगै उत्पादकत्वमा समेत ह्रास आएकाले यसको समाधान चाँडो गर्नुपर्ने उनको भनाई छ । पहिले पहिले प्रतिदिन ९ देखि १० ट्रिप हुने गाडीको यात्रा हाल जामकै कारण छोटिएर प्रतिदिन ३ देखि ४ ट्रिपमात्रै हुनेगरेको छ । यसरी सार्वजनिक सवारीसाधन भनेकै समयमा नआउनुमासमेत सवारी जामनै प्रमुख कारण रहेको उनको भनाई छ । ‘पछिल्लो समय सार्वजनिक बसहरुले धेरै यात्रु बोके, जामको कारण तिनै हुन, पिक एण्ड «प गरेनन् भन्ने गुनासो छ,’ उनले भने, ‘यी सबैको जड सवारी जाम नै हो यदि जाम नहुने हो भने प्रत्येक २ देखि ३ मिनेटमा यात्रुले बस पाउने सुविधा आउनेछ ।’

मौन सरकारी निकाय

पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको सवारीचापको प्रमुख कारण भने दुई पांग्रे सवारीसाधन भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् । उनका अनुसार एक त भनेबमोजिम सडक चौडा छैन । त्यसमाथी २ पांग्रे सवारीसाधनको अत्याधिक अनुशासनहीनताका कार्यले नै सडकमा सवारीसाधन जाम हुने गरेको हो । ‘प्राय २ पांग्रे सवारीसाधनले लेन मिचेर हिँड्छन्,’ उनले भने, ‘यसो भयो भने ट्राफिकले बाटोकै साईडमा राखेर चिट काटनेलगायत कारबाही गर्ने गर्छ र सवारी जाम निम्तिन्छ । यस्तै उनले हाल तत्कालका लागि सवारी जाम कम गर्नेबारे कुनै निर्णया योजना नभएकोसमेत बताए ।

‘दिनप्रतिदिन बढ्दै गएको सवारीजामबारे हामीलाई ट्राफिक प्रहरीहरुलै दैनिक गुनासो गर्ने गर्नूहुन्छ,’ उनले भने, ‘तर यसका कुनै उपाय न नदेखिएपछि खास निक्र्योल निकाल्न सकिएको छैन र योजना पनि बनाईएको छैन ।’ उनले अब कुनैपनि सवारीसाधनलाई बाटोमै चेक गरेर कारबाही गर्नेभन्दा पनि कुनै एक स्थानबाट भिडियोमार्फत निगरानी गरेर कार्यालयमै बोलाएर कारबाही गर्ने सिस्टमको बारेमा आफुले सोचिरहेकोसमेत बताए । ‘यो योजना मैले आफैले बनाएको हुँ, कसैसँगै सल्लाह या सुझाव लिएको छैन,’ उनले भने, ‘यसको आफै अध्ययन पनि गर्दैछु, गर्न सकियो भने यसले केहि हदसम्म भएपनि सवारीजाम हटाउनेछ ।’ ट्रााफिक महाशाखा भने सवारीसाधनहरु धेरै भएर सडकमा व्यवस्थापन गर्नै अप्ठ्यारो भएको भन्दै दैनिकजसो विभागमा उजुरी लिएर आउँछ । तर, गाडीको आयात घटाउँदा अर्थतन्त्रमै नकारात्मक असर पर्ने भएकाले सरकारले आयात घटाउने निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL