Logo

पेट्रोलियम उत्खनन् दुई वर्षदेखि अन्यौलमा, ओमिक्रोनले थप प्रभावित हुनसक्ने

पेट्रोलियम उत्खनन् दुई वर्षदेखि अन्यौलमा, ओमिक्रोनले थप प्रभावित हुनसक्ने



काठमाडौं । नेपालमा पेट्रोलियम उत्खनन् कार्य करिव २ वर्षदेखि अन्यौलमा परेको छ । कोरोना महामारी शुरु भएसँगै दैलेख नाभीस्थान, श्रीस्थानमा भइरहेको पेट्रोलियम पदार्थ उत्खननको कार्य ठप्प बनेको छ । नेपाल र चिनियाँ सरकारबीच द्विपक्षीय समझदारीसँगै अन्वेषण शुरु भएपनि कोरोनाका कारण अन्तिम अन्वेषण(ड्रिलिङ सर्भे) भने अन्यौलमा परेको हो ।

सम्झौतासँगै चिनियाँ जिओलजिकल सर्भे टोलीले उक्त स्थानमा सेस्मिक सर्भे र म्याग्नेटो टेलिक सर्भेको काम अघिल्लो लकडाउन अगावै सम्पन्न गरेको थियो । उक्त अध्ययन खासगरी पेट्रोलियम पदार्थको अवस्था र छ या छैन भन्ने पत्ता लगाउन गरिन्छ । त्यसलगत्तै चिनियाँ टोलीे लकडाउन अगावै जमिनमाथि गरिने विभिन्न सर्भे गरेर त्यसको तथ्यांक विश्लेषण गर्ने भन्दै चीन फर्किएको करिव २ वर्ष पुगिसकेको छ । कोरोना महामारीका कारण लकडाउन भएपछि चिनियाँ टोली नेपाल नआउँदा थप काम अन्यौलमा परेको थियो । त्यससता लकडाउन खुलेर अवस्था सामान्य बनेपनि चिनियाँ टोली नेपाल नआउादा ड्रिलिङ सर्भेको काम भने अन्यौलमा परिरहेको छ ।

यसअघि बेलाबेलामा खानी तथा भुगर्भ विभागले चिनियाँ टोलीलाई नेपाल आएर ड्रिलिङ सर्भेको काम अघि बढाउन आग्रह गरेपनि कोरोनाको कारण देखाउँदै नआउने गरको विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार धेरैपटक विभागले सर्भे टोलीलाई पत्राचार गर्दा पनि माथिल्लो निकायले क्लियरेन्स नगरिदिएको कारण देखाउँदै आउको छ । ‘हामीले उक्त सर्भे टोलीसँग प्रत्यक्ष संचार गर्छाैं,’ उनले भने, ‘तर, धेरैचोटो कोरोनाको कारण र पछिल्लो समय भने माथिल्लो निकायले क्लियरेन्स गरिदिएन भन्दै नआएको जवाफ आएको छ ।’

कोरोनाको डरले दैलेखको पेट्रोलियम अन्वेषण गर्न नआएको चिनियाँ टोलीमाथि अर्काे डर थपिएको छ ओमिक्रोनको । विश्वका धेरै देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिएसँगै चिनियाँ अन्वेषणकर्ता पुनः नेपाल आउने नआउनेमा अन्यौलता थपिएको हो ।

उनका अनुसार हालसम्म कोरोनाको कारण देखाएका चिनियाँ टोलीले अब कोरोनाकै नयाँ भेरियन्टको कारण देखाउँदै नआउने सम्भावना बढेको छ । ‘विश्वका धेरै देशमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको कारण नआएको भन्दै जवाफ नदेलान भन्न सकिन्न,’ उनले भने, ‘अब त ढिलो भईसक्यो ड्रिलिङका लागि आवश्यक सबै पूर्वाधार र उपकरणहरु तयारी छन् ।’

विभागले पेट्रोलियम अन्वेषण गर्ने क्षेत्रमा केहि जग्गा खरिद गर्ने योजना बनाएको छ । अन्वेषणका क्रममा निस्किने तेलजन्य पदार्थ, माटो, चट्टानलगायतका ठोस बस्तुहरु व्यवस्थापन गर्न केहि जग्गा आवश्यक पर्ने भएकाले खरिद गर्न लागिएकवो महानिर्देशक घिमिरेले बिजखबरलाई जानकारी दिए । यसका लागि विभागले ५० देखि ७० लाखको बीचमा रकम छुट्याएकाले जग्गा अधिग्रहणको काम भने चाँडै गर्ने उनको भनाई छ ।

उक्त परियोजनामा ड्रिलिङ सर्भेपश्चात पेट्रोलियम पदार्थ कति परिमाणमा छ र यसको उत्खनन् गर्दा आर्थिक रुपमा कति फिजीबल छ भन्ने पत्ता लगाईन्छ । त्यसपछि मात्रै उत्खननको काम गरिने विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका उपमहानिर्देशक सुधिर रजौरेले बताए । तर, चिनियाँ टोली २ बर्षअघि चीन गएर पुनः कोरोनाको कारण देखाउँदै नफिर्कीएपछि ड्रिलिङ सर्भेको काम नै अन्यौलमा परेको उनले बताए ।

तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७२ साल चैतमा चिनियाँ सरकार र नेपालबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षिय सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी भएको थियो । चिनियाँ विज्ञहरुको सहयोगमा नेपालका सम्भावित स्थानमा पेट्रोलियम खानीको अन्वेषण र उत्खनन गर्नका लागि भन्दै उक्त समझदारी गरिएको थियो । त्यसयता चिनियाँ विज्ञको टोलीले दैलेखको पादुकास्थान, नाभिस्थानमा पेट्रोलियम अन्वेषण थालेको हो ।

खानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ स्थानमा ग्यास चुहावट भएको देखिन्छ । सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराह क्षेत्र र मोरङको भाउन्नेमा प्रारम्भिक अध्ययन गरेको थियो ।

उक्त प्रारम्भिक अध्ययनपछि चिनियाँ टोली स्वदेश फर्केपछि नेपालमा पेट्रोलियम पदार्थको खोज अन्वेषणका लागि चीनले नेपाललाई २ अर्ब रुपैयाँ सहयोगको घोषणासमेत गरेको थियो । सोही घोषणाअनुसार २३ अगस्ट, २०१७ मा सो सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय र चीन सरकारबीच हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL