Logo

एकैदिन त्रिभुवन विमानस्थल भन्सारबाट २१ किलो सुन बरामद, राजस्व तिराउँदै पठाउँदै

एकैदिन त्रिभुवन विमानस्थल भन्सारबाट २१ किलो सुन बरामद, राजस्व तिराउँदै पठाउँदै



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार २१ किलो सुन बरामद गरेको छ । कार्यालयले सोमबार विमानस्थलबाट झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गरेको हो । उक्त सुन वैदेशिक रोजगारी र घुम्न गएर फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको अबस्थामा बरामद गरिएको कार्यालयले जानकारी दिएको छ ।

दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४ सय १५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ ।
विदेशबाट नेपाल फर्किने नेपालीलाई दिइएको झिटीगुन्टाको सुविधा अन्र्तगत ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाइन्छ । सोही सुविधालाई दुरुपयोग गर्दै तस्करले बालाको आकार दिएर काँचो सुनको तस्करी गरेको आशंकापछि भन्सारले गहना आकारमा मात्रै ढालिएका सुनलाई बरामद गर्न अभियान थालेको हो ।

एक दिनमै यसरी भित्रिएको बाला आकारको ठूलो परिमाणको सुनलाई भन्सार तिर्न अनिवार्य गरिएको छ । मंगलबार बिहानसम्म सुन बोकेर आएका १९५ जना यात्रुले बरामद भएकोमध्ये ९ किलो ९ सय ७६ ग्राम सुन भन्सार तिरेर लगेका छन् भने बाँकी सुनको भन्सार तिर्न यात्रुहरु आउने क्रम जारी रहेको विभागले जानकारी दिएको छ । यस्तो सुनमा भन्सार रकम हालसम्म ९४ लाख ६५ हजार ५४८ रुपैयाँ भन्सार संकलन भएको छ ।

झिटिगुन्टा नियमअनुसार ५० ग्राम बाहेक थप २०० ग्रामसम्म सुन ल्याउने सुविधा छ । यसरी सुन ल्याउँदा ५० ग्रांममा भन्सार लाग्दैन भने २०० ग्राममा भन्सार तिर्नुपर्छ । सो भन्दाबढी सुन ल्याए जफत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्