Logo

१२ लाख नेपाली सवारी लाइसेन्सको प्रतिक्षामा, नयाँ लाइसेन्सका लागि दुई वर्ष कुर्नुपर्ने अवस्था

१२ लाख नेपाली सवारी लाइसेन्सको प्रतिक्षामा, नयाँ लाइसेन्सका लागि दुई वर्ष कुर्नुपर्ने अवस्था



काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेहरुले परीक्षाका लागि नै करीब २ वर्ष कुर्नुपर्ने भएको छ । लाइसेन्सका लागि आवेदन दिनेको संख्या लगातार बढिरहेको कारण हाल लाइसेन्सका लागि अनलाइन आवेदन दिएका सेवाग्राहीको पालो झण्डै २ बर्षपछि मात्रै तोकिने गरेको छ । यातायात व्यवस्था विभागको अनलाइन आवेदन दिने प्रणालीमार्फत आवेदन दिँदा सेवाग्राहीले २२ महिना कुर्नुपर्ने विभागका अधिकारीहरु बताउँछन् ।

कोरोना महामारी र त्यसले निम्त्याएको लकडाउनका कारण लामो समय आवेदन दिन नपाएका सेवाग्राहीहरुले एकैपटक आवेदन दिंदा चाप बढेको भएपनि लिखित र प्रयोगात्मक परीक्षाहरु सोहीअनुसार हुनसकेका छैनन् । जसका कारण लगातार बढ्दो अनलाइन आवेदनले आवेदनकर्तालाई झन निराशा बनाएको छ ।

अनलाइनमार्फत आवेदन दिने सेवाग्राहीको संख्या बढिरहँदा विभाग मातहतका कार्यालयहरुले परीक्षा सोही क्षमतामा संचालन गर्न नसक्दा सेवाग्राहीको पालो धेरै पछि धकेलिएको हो । आजै (मंगलबार) मोटरसाइकलका लागि यातायात कार्यालय चावहिलबाट आवेदन भरेका सेवाग्राहीको पालो झण्डै २ बर्षपछि अर्थात सन २०२३ सेप्टेम्बरमा परेको छ ।

हाल विभागमा यसरी लाइसेन्सका लागि आवेदन दिएर बायोमेट्रिकका लागि पालो कुर्नेको संख्या साढे ६ लाख बढी छ । यस्तै परीक्षा दिएर पास भई लाईसेन्स नपाउनेको संख्यासमेत ५ लाख बढी पुगिसकेको विभागका एक अधिकारीले बताए । उनका अनुसार लतागार बढ्दो लाइसेन्सको आवेदनका कारण यातायात कार्यालयहरुलाई बायोमेट्रिक गर्नदेखि परीक्षा लिनसम्म अप्ठ्यारो अवस्था सिर्जना भएको छ । अहिले नवीकरण गरेका र नयाँ आवेदन दिएकाहरुसहति करीब १२ लाख नेपालीले स्मार्ट लाइसेन्स हात पार्ने प्रतिक्षा गरिरहेका छन् ।

किन आयो यस्तो अवस्था ?

खासगरी २०७६ सालमा विश्वभर फैलिएपछि नेपालमा पनि यसको असर देखापर्याे र केही व्यक्तिहरुमा यसको लक्षण देखियो । सोहीअनुसार नेपालले २०७६ चैतदेखि लकडाउन भएपछि लाइसेन्सको अनलाइन आवेदन लिने, बायोमेट्रिक गर्ने, लिखित तथा प्रयोगात्मक परिक्षा लिनेलगायत सबै कामहरु स्थगित भए । त्यसपश्चात झण्डै ६ महिनापछि विभागले पुन ः अनलाईन आवेदन लिनेगरी सूचना प्रकाशित गर्याे र यसमा सहजीकरणसमेत गर्यो ।

विभागले गत बर्षको मंसिरमा अनलाईन आवेदन अनलिमिटेड अर्थात जतिपनि लिने व्यवस्था गरेपछि एकैचोटी धेरै सेवाग्राहीले अनलाइनमार्फत फारम भरे । सोहीअनुसार यातायात कार्यालयहरुको क्षमताले नभ्याउने भएपछि फारम भर्नेको संख्या उच्च र बायोमेट्रिक गर्नेको संख्या न्यून हुँदा पनि पालो धेरै लामो समय कुर्नुपरेको विभागले जानकारी दिएको छ । लामो समयपछि सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्दा छोटो समयमा ९ लाख बढीले आवेदन दिएका थिए ।

त्यसपछि पुनः गत बैशाख १६ गतेदेखि दोस्रो चरणको लकडाउन लागु गरिएपछि पनि आवेदन दिएका सेवाग्राहीले बायोमेटिक« गर्न पाएनन् भने आवेदन दिन इच्छुकले आवेदनै दिन पाएनन् । जसका कारण पछिल्लोपटक गत महिनामात्रै सुचारु गरिएको अनलाइन आवेदनमा झण्डै साढे ६ लाख बढीले आवेदन दिएका छन् । दोस्रो चरणको लकडाउनभन्दा अघि आवेदन दिएकाको बायोमेट्रिक गर्ने पालो नसकिँदै नयाँ आवेदनकर्ता थपिँदा पालो कुर्नुपर्ने समय पहिलेभन्दा धेरै थपिएकोसमेत विभागका अधिकारीको भनाई छ ।

छैन समस्या समाधानको तयारी

यसरी लाइसेन्सका लागि दैनिक करिव १० हजार बढीले आवेदन भर्छन । नेपालभर २८ ओटा यातायात कार्यालय छन् । बागमती प्रदेशकै कुरा गर्दा हेटौडामा १ उपत्यकामा ४ गरी ५ ओटा यातायात कार्यालयहरुबाट बायोमेट्रिक र ट्रायल दिन सकिने सुविधा छ । यी कार्यालयहरुले प्रतिदिन करिव ५ सय जनाको ट्रायल लिन सक्छन् । तर केहि कार्यालयहरुको क्षमता त्यति नहुने हुनाले कम पनि हुन्छ । यरी कम यातायात कार्यालय र असुविधाका कारण धेरैजसो सेवाग्राहीहरु एउटै यातायात कार्यालयबाट आवेदन दिएर लामो समय पालो कुर्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

यसको समाधानका लागि यातायात व्यवस्था विभागले नयाँ व्यवस्थाका बारेमा सोचिनसकेको विभागका महानिर्देशक नमराज घिमिरे स्वयं बताउँछन् । तर, धेरै सेवाग्राहीले एकै कार्यालय चयन गर्दा यस्तो समस्या निम्तिने उनको भनाई छ । ‘चावहिलकै यातायात कार्यालय सबैलाई पायक पर्ने हुनाले यतैबाट धेरै सेवाग्राहीले आवेदन भर्नुहुन्छ,’ उनले भने, ‘यदि चाँडो पालो आओस भन्ने चाहानुहुन्छ भने अन्य कार्यालयबाट आवेदन भर्न सक्नुहुनेछ ।’

यसको समाधानका लागि अब विभागले चाँडै ‘चाप भएका कार्यालय भन्दा अन्य कार्यालयमा भर्ने कि ? यही कार्यालयमा अघि बढाउने ?’ भनेर सेवाग्राहीलाई सोधेर मात्रै फारम लिने व्यवस्था मिलाउन लागिएको विभागको सूचना प्रविधि शाखाका कम्प्युटर इन्जिनियर सन्तोष पोख्रेल बताउँछन् । उनका अनुसार अब सेवाग्राहीले लाइसेन्सको आवेदन भर्दा कुन कार्यालयमा कति जनाले फारम भरेका छन् र पालो कहिले आउँछ भनेर बुझ्न सक्नेछन् । यस्तो भएको खण्डमा सेवाग्राहीलाई आफुखुसी कार्यालय छान्न सकिने अवसर हुनेछ । यो व्यवस्थाले एकै कार्यालयलाई धेरै सेवाग्राही भएको बोझको पनि अन्त्य हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL