काठमाडौं । सरकारले अब सार्वजनिक सवारीसाधनहरुमा भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) लागु गर्ने भएको छ । यससँगै सर्वाजनिक सवारीको गति तथा रुट निश्चित स्थानबाटै निगरानी गर्न सकिने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै काठमाडौंबाट जनकपुर, वीरगंज र पोखरा चल्ने सार्वजनिक सवारीसाधनहरुमा भिटिएस जडान गर्न लागेको जानकारी दिएको हो ।
पहिलो चरणमा परिक्षणका लागि उक्त रुटमा चल्ने सार्वजनिक सवारीसाधनमा जडान गरिने उक्त प्रणाली विस्तारै सबै सवारीसाधनमा लगाउने उद्देश्य विभागको छ ।
विभागले पहिलो चरणमा अध्ययनका लागि भन्दै १ सय ओटा सार्वजनिक सवारीसाधनमा उक्त प्रणाली जडान गर्न लागेको हो । यसका लागि इच्छुक सार्वजनिक सवारीधनीले यातायात व्यवस्था विभागमा निवेदन दिन सक्नेछन् । पहिले निवेदन आएका र कागजात पेश गरेका सार्वजनिक सवारीसाधनलाई प्राथमिकतामा राखी उक्त प्रणाली जडान गरिने विभागले जानकारी दिएको छ ।
विभागका अनुसार उक्त प्रणाली जडान गरिसकेपछि उक्त सवारीसाधनको गति, कुन दिशातर्फ गईरहेको छ, कुन समयमा कुन स्थानमा पुग्छलगायतका सूचनाहरु विभागबाटै वा निश्चित एपमार्फत जानकारी पाउन सकिन्छ ।
यसका लागि इच्छुक सवारीधनीले विभागमा सम्बन्धित यातायात व्यवासायी प्रमाणपत्र, सवारीसाधन दर्ता प्रमाणपत्र, सवारीचालकको परिचयपत्र र सवारीचालक अनुमतिपत्रसहित निवेदन पेश गर्नुपर्नेछ ।