Logo

चिनियाँ लगानीकर्ताको उच्च प्राथमिकतामा नेपाल, एकैदिन चीनबाट भित्रियो अर्बको हाराहारीमा लगानी

चिनियाँ लगानीकर्ताको उच्च प्राथमिकतामा नेपाल, एकैदिन चीनबाट भित्रियो अर्बको हाराहारीमा लगानी



काठमाडौं । पछिल्लो समय नेपालमा लगानीक लागि चिनियाँ लगानीकर्ताहरु निकै सक्रिय देखिएका छन् । नेपालको पर्यटन, निर्माणदेखि व्यापारसम्म अवसर देखेका चिनियाँ लगानीकर्ताले एकैदिन एक अर्ब रुपैयाँ हाराहारीमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् । कात्तिक महिनामा एकैदिन छिमेकी देश चीनबाट मात्रै ८८ करोड बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागमा आएको वैदेशिक लगानी प्रतिवद्धताको तथ्यांकअनुसार गत कात्तिक २५ गतेमात्रै चिनियाँ लगानीकर्ताले ४ परियोजनामार्फत ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जनाएका छन् ।

विभागको तथ्यांकअनुसार उक्त दिन काठमाडौंमा एउटा होटल, कार्गो व्यवासय, निर्माण कम्पनीसँगै पोखरामा पनि होटल निर्माण गर्ने गरी चिनियाँ लगानीकर्ताले सो रकम बरबरको लगानी प्रस्ताव गरेका हुन् । विभागका अनुसार काठमाडौंमा बन्ने चिनियाँ होटलमा २४ बेड र ५० जनासम्म बसेर खान सक्ने रेष्टुरेन्ट हुनेछ । यस्तै पोखरामा बन्ने होटलका भने २० बेड र ३० जनासम्म बसेर खान सक्ने क्षमता रहने छ । यी होटलमा १० करोड रुपैयाँ लगानी हुनेछ ।

यता काठमाडौंमै उद्योग स्थापना गर्नेगरी सोही दिन विभागमा दर्ता भएको चिनियाँ निर्माण (कन्स्ट्रक्सन) कम्पनीले ६८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता जाहेर गरेको हो । यो कम्पनीले कम्पनीले भने ४० करोड रुपैयाँ बजेटको सुरुङमार्ग र सडक निर्माण गर्ने बताएको छ । विभागका अनुसार उक्त कम्पनीले १५ केभीए विद्युत खपत गर्दै ४० जनालाई रोजगारी दिने बताएको छ ।

यस्तै सोही दिन विभागमा दर्ता भएको चिनियाँ कार्गाे कम्पनीले भने १० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता व्यक्त गरेको छ । बार्षिक १५ हजार मेट्रिकटन बराबरको कार्गाे ह्यान्डलिङ सेवा दिने उद्देष्य राखेको उक्त कम्पनीले ५० जनालाई रोजगारी दिने उल्लेख गरेको छ ।

पछिल्लो समय नेपालमा चिनियाँ लगानीकर्ता लगानीका लागि निकै आकर्षित भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक बर्षको साउनदेखि कात्तिकसम्म चीनबाट आएको मात्रै २२ अर्ब बढिको वैदेशिक लगानी स्वीकृत गरिएको छ । वैदेशिक लगानीमा उदार नीति लिएको नेपालमा नेपालको संविधान २०७२ लागु भएयता पनि चिनियाँ लगानीकर्ताहरु बढी आकर्षित भएको देखिन्छ ।

विभागको तथ्यांकअनुसार संबिधान लागुभएयता चीनबाट मात्रै १ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आइसकेको छ । उक्त बर्षदेखि चीनबाट नेपाल भित्रिने वैदेशिक लगानीमा बढोत्तरी भएको देखिन्छ । आर्थिक बर्ष २०७१-७२ यता सबैभन्दा धेरै चिनियाँ लगानी प्रतिवद्धता आएको बर्ष भने २०७४-७५ छ ।

चिनियाँ लगानीकर्ताको उच्च प्राथमिकतामा नेपाल, एकैदिन चीनबाट भित्रियो अर्बको हाराहारीमा लगानी

यो बर्ष चीनबाट ४६ अर्ब ५३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ । यो बर्ष उक्त प्रतिवद्धतामार्फत १ सय ६२ जनाले रोजगारी पाउने बताईएको थियो । त्यसयता प्रत्येक बर्ष चीनबाट ६ देखि २५ अर्ब रुपैयाँसम्मको लगानी प्रतिवद्धता आउने गरेको पाइएको छ । चालु आर्थिक बर्षको ४ महिनाकै कुरा गर्दा पनि गत कात्तीक २५ गतेसम्म चिनियाँ लगानीकर्ताहरुले नेपालमा २२ अर्ब ९० करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेका छन् । जसमा धेरै उद्योगहरु साना र मझौला छन् । यो अवधिमा चीनबाट ठुला लगानीका परियोजना भने नआएको विभागले जानकारी दिएको छ ।

विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार पछिल्लो समय आएको प्रत्यक्ष वैदेशिक लगानीमा चीनको हिस्सा ठूलो छ । उनका अनुसार हाल चीनको लगानी २२ अर्ब पुगिसक्दा नेपालमा धेरै लगानी भित्र्याउने अन्य ठूला मुलुकको लगानी भने बढिमा १ अर्बमै सीमित छ । यस अवधिमा नेपालमा धेरै लगानी भित्र्याउने देशहरुमा क्रमशः सिंगापुर, भारत, अमेरिका, नेदरल्याण्डलगायतका देशहरु छन । उनीहरुले चालु आवको पछिल्लो ४ महिनामा १ अर्ब कम मात्रामा नेपालमा लगानीको प्रतिवद्धता जनाएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL