काठमाडौं । पछिल्लो समय सबै उपभोग्य वस्तुहरुको मूल्य आकाशिदा तरकारीको मूल्य सबैभन्दा तीब्र गतिमा बढेको छ । पछिल्लो ३ महिनाकै तथ्यांक हेर्दा पनि धेरैजसो उपभोग्य वस्तुहरुको मूल्य छोइनसक्नु अवस्थामा पुगेको छ । चामल, दाल, तरकारी, फलफूलदेखि प्रायः दैनिक उपभोग्य वस्तुसमेत आयातित रहेको वर्तमान नेपाली बजारमा विचौलियाको थप चलखेल र सरकारी वेवास्ताका कारण उपभोक्ताले जतिपनि मूल्य तिर्न बाध्य भइरहेका छन् । विचौलियाका कारण नेपालमै उत्पादित वस्तुको मूल्य उपभोक्ताले निकै महँगोमा खरीद गरिरहेपनि उत्पादक किसानले भने लागतअनुसार पनि नपाउँदा किसानमा निराशाको अवस्था छ ।
पछिल्लो समय तरकारीको भाउले शिखर छोएपनि नेपाली किसानले भने त्यसबाट लाभ पाउन नसकेको अवस्था छ । यसको प्रमुख कारण विचौलियाको चलखेल भएको जानकार बताउँछन् । अहिले बजारमा धेरैजसो तरकारीको मूल्य भारतबाट आयातित तरकारीकै मूल्यकै आधारमा विचौलिया र व्यापारीले तोकेर विक्री गरिरहेका छन् ।
अहिले नेपालमा उत्पादन भएको तरकारीको तुलनामा भारतीय तरकारीको मूल्य महंगो छ । जसको फाइदा उठाउँदै व्यापारीले भने सस्तो मूल्य रहेको नेपाली तरकारीका मूल्य पनि भारतीय तरकारीको मूल्यमै तोकेर विक्रि गरिरहेका छन् । किसानसँग एकदमै सस्तोमा खरीद गरिरहेपनि विचौलिया र व्यापारीले भने बजारमा नेपाली तरकारीको मूल्य पनि आयातित तरकारीकै मूल्यमा विक्रि गर्दा उपभोक्ता आफ्नो देशमा उत्पादिन तरकारी सस्तो मूल्यमा खरीद गर्नबाट बञ्चित भएको अवस्था छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार नेपाली गोलभेँडाको मूल्य औषतमा ७० देखि ८५ रुपैयाँ प्रतिकिलोसम्म मात्रै छ । अर्थात बजारमै पनि यो गोलभेँडा बढीमा १ सय रुपयाँ प्रतिकिलोमा पाईनुपर्ने हो । यस्तै समितिका अनुसार भारतीय ठुलो गोलभेँडाको मूल्य भने औषतमा १ सय २० रुपैयाँ प्रतिकिलो छ । अर्थात नेपाली अन्य गोलभेँडाको तुलनामा यसको मूल्य करिव करिव दोब्बर नै बढी छ । तर, बजारमा बेच्न राखिएका प्रायः टमाटर नेपाली नै भएपनि व्यापारीले हाल प्रतिकिलो १ सय ३० देखि १ सय ४० रुपैयाँसम्म लिने गरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।
व्यापारीले सरकारले तोकिदिएको मूल्यभन्दा बढी मूल्य उपभोक्ताबाट असुल्ने कार्य गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । उनका अनुसार भारतीय तरकारीकै मूल्यमा नेपाली तरकारी बेचिँदा पनि किसान मर्कामा परेका छन् भने अर्कातिर त्यसको उपयोग गर्ने उपभोक्ता झन ठूलोे मारमा परेका छन् । राज्यले विचौलियाहरुको नियन्त्रणे गर्न नसक्दा बजारको तह बढी भएको र त्यसको प्रत्यक्ष असर उपभोक्ताको चुल्होसम्म परेको उनले बताए । यस्तै पछिल्लो समय बजारको नियमनकारी निकाय वाणिज्य विभाग पनि नेतृत्वविहिन भई अनुगमनका कार्य नहुँदा बजार छाडा भएको उनको आरोप छ । व्यापारीहरुले हस्तक्षेपकारी निकाय गतिशिल नभएको फाइदा उठाईरहेको उनी बताउँछन् ।
यस्तै बजारमा विक्री हुने भारतीय तरकारी आलु, प्याज, फलफूललगायतको मूल्य नेपाली व्यापारीहरुले भारतीय वस्तुकै आधारमा तोकेर बेच्ने गरेका छन् । व्यापारीहरु भारतीय टमाटर र नेपाली टमाटरमा फरक नभएको भन्दै प्रतिकिलो खुद्रामा १४० रुपैयाँमै बेच्नुपर्ने बताउँछन् । काठमाडौको सामाखुसीमा किराना र तरकारी पसल चलाएर बस्ने बसन्त अधिकारी बजारमा नै गोलभेँडाको मूल्य अत्याधिक बढेकाले बढी मूल्यमै बेच्नुपरेको बताउँछन् । उनका अनुसार समितिले टमाटरको मूल्य जति तोकेपनि भने होलसेल मार्केटमा एउटै मूल्य लिने गरेका छन् । ग्राहकलाई पनि भारतीय र नेपाली भनी नछुट्याईकनै गोलभेँडा बेच्ने गरिएको उनी बताउँछन् । अन्य तरकारीको हकमा पनि मूल्य उस्तै रहेको छ ।
नेपाली तरकारी फलफूल उपभोक्ताले सस्तोमा पाउन सक्ने अवस्था रहेपनि विचौलिया र व्यापारीले किसानबाट एकदमै कम मूल्यमा खरीद गर्ने र मनपरी मूल्यमा बेच्ने गर्दा उपभोक्तामाथि महँगीको पीडा थपिएको छ । उपभोक्ताको खल्ती रित्याएर विचौलिया र व्यापारी मोटाउने अवस्था बलियो बन्दै जाँदा उत्पादक किसान भने लागत मूल्य पनि नपाएर पेशाबाट विस्थापित भइरहेको अधिकारकर्मी तिमल्सिना बताउँछन् ।
यसरी बजारमा उपभोक्ताको चुल्होसम्म पुग्ने तरकारीको मूल्य आफुखुसी तोकिँदा यसको नियमनकारी निकाय वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागे नेतृत्वविहिन भएको बहानामा सरकारले पुरै वेवास्ता गरिरहेको देख्न सकिन्छ ।