Logo

वैदेशिक लगानी काठमाडौं केन्द्रित, कुल लगानीको ४३ प्रतिशत हिस्सा काठमाडौंमै

वैदेशिक लगानी काठमाडौं केन्द्रित, कुल लगानीको ४३ प्रतिशत हिस्सा काठमाडौंमै



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालमा २३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार चालु आवको साउन महिनादेखि कार्तिक महिनासम्म विभिन्न ११० परियोजनामार्फत २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । गत आर्थिक बर्षको पहिलो ४ महिनाको तुलनामा ४ अर्ब ११ करोड रुपैयाँ बढीले वृद्धि भएको लगानी प्रतिवद्धता भने काठमाडौं केन्द्रित हुँदैं गएको देखिन्छ ।

गत आर्थिक बर्षको यही अवधिमा नेपालमा १ सय परियोजनामार्फत १९ अर्ब ७० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा यो बर्ष बढेर २३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यसरी वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गर्दा लगानी भने संघीय राजधानी काठमाडौं केन्द्रित भएको देखिन्छ । धेरैजसो वैदेशिक लगानीकर्ताहरुले विभिन्न साना ठूला परियोजनाहरु काठमाडौंमै निर्माण गर्नेगरि विभागमा लगानी प्रतिवद्धता गरेको देखिन्छ । चालु आवको पछिल्लो ४ महिनामा काठमाडौंमै केन्द्रित रहेर ६३ उद्योगले १० अर्ब ३४ करोड रुपैयाँ लगानीको प्रतिवद्धता जाहेर गरेका छन् । अर्थात चालु आवको ४ महिनामा आएको कुल वैदेशिक लगानीको ४३ प्रतिशत बढी लगानी काठमाडौंमै केन्द्रित छ ।

पछिल्लो ४ महिनामा काठमाडौंमा आएको वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढि प्रतिवद्धता भने पर्यटन क्षेत्रमा आएको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा काठमाडौंमा पर्यटन क्षेत्रमा मात्रै ७ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यस्तै सेवा क्षेत्रमा पनि यस अवधिमा २ अर्ब ५८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आउँदा उर्जामुलक क्षेत्रका उद्योगमा ५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । पछिल्लो ४ महिनामा काठमाडौंमा उत्पादनमुलक र सूचना प्रविधि क्षेत्रमा क्रमशः ३५ करोड र ३० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।

अझ गत आर्थिक बर्षमा काठमाडौं केन्द्रित लगानी प्रतिबद्धता झण्डै दोब्बर रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष काठमाडौं केन्द्रित वैदेशिक लगानी प्रतिवद्धतामा ६५ प्रतिशत कम प्रतिबद्धता आएको विभागको तथ्यांकमा छ । गत आर्थिक बर्षको पहिलो ४ महिनामा काठमाडौं केन्द्रित वैदेशिक लगानी १५ अर्ब ७३ करोड रुपैयाँ बराबरको आएको थियो ।

चालु आवकै तथ्यांक केलाउँदा काठमाडौं पछि धेरै वैदेशिक लगानी प्रतिवद्धता पाउने जिल्ला भने ललितपुर हो । उद्योग विभागका अनुसार पछिल्लो ४ महिनामा ललितपुर जिल्लाका लागि भन्दै ६ अर्ब ३० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यस्तै पछिल्लो ४ महिनामा भक्तपुर, बारा, धादिङलगायत गरी ११ जिल्लामा लगानीको प्रतिवद्धता आएको छ । यी सबै जिल्लामा आएको लगानी प्रतिवद्धतामार्फत ७ हजार २ सय ८१ जनाले रोजगारी पाउने बताईएको छ ।

काठमाडौंमा हालसम्म १ खर्ब १४ अर्ब वैदेशिक लगानी

उद्योग विभागको तथ्यांकलाई आधार मान्दा नेपालमा कानुनी रुपमा वैदेशिक लगानी भित्रिन थालेयता काठमाडौंमा मात्रै १ खर्ब ३२ अर्ब २७ करोड रुपैयाँ बढीको वैदेशिक लगानी प्रतवद्धता आएको छ । यो हालसम्म आएको कुल वैदेशिक लगानी प्रतिवद्धताको ३४ प्रतिशत हो । हालसम्म नेपालमा कुल ३ खर्ब ८५ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

वैदेशिक लगानीकर्ताहरुले काठमाडौंमा खासगरी सेवा तथा पर्यटन क्षेत्रका उद्योगमा रुचि देखाउँदा यो लगानी अन्य जिल्लाको तुलनामा बढ िदेखिन्छ । विभागका अनुसार हालसम्म वैदेशिक लगानीकर्ताहरुले काठमाडौंमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको देखिन्छ । यो क्षेत्रमा विदेशी लगानीकर्ताहरुले ५५ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका छन् ।

यस्तै काठमाडौंमै केन्द्रित रहेर विदेशी लगानीकर्ताहरुले सेवा क्षेत्रमा पनि सोहीअनुसारको लगानी प्रतिवद्धता जाहेर गर्ने गरेको देखिएको छ । काठमाडौंमा मात्रै सेवा क्षेत्रमा हालसम्म ४४ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको तथ्यांकमा उल्लेख छ । यस्तै हालसम्म उत्पादनमुलक क्षेत्रमा पनि काठमाडौं केन्द्रित १० अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका तथ्यांक अनुसार हालसम्म धेरै वैदेशिक लगानी प्रतिवद्धता पाएका जिल्लाहरुमा ललितपुर रसुवा र कालिकोट छन् । यी ३ जिल्लामा हालसम्म क्रमशः ४० अर्ब, ४० अर्ब, ३३ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

धेरै लगानी चीनबाट

चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा काठमाडौंले भित्र्याएको कुल वैदेशिक लगानीका १० अर्ब ३४ करोडको ९५ प्रतिशत लगानी प्रतिवद्धता चीनको छ । उद्योग विभागका चीनबाट यस अवधिमा काठमाडौंमा विभिन्न उद्योग परियोजना संचालन गर्नेगरी ९ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । कुल ५४ परियोजनामार्फत आएको यस्तो परियोजनाले ३ हजार ६ सय १० जनालाई रोजगारी सिर्जना गर्ने बताईएको छ । यस्तै यस अवधिमा काठमाडौंमा अमेरिका, नेदरल्याण्ड जापान भियतनामलगायतका देशहरुबाट लगानीको प्रतिवद्धता आएको छ ।

यता हालसम्मकै तथ्यांक हेर्दा काठमाडौंमा भित्रिएको कुल लगानी प्रतिवद्धताको ५८ प्रतिशत हिस्सा चीनले ओगटेको छ । नेपालमा वैदेशिक लगानी प्रतिवद्धता आए यताको तथ्यांकमा काठमाडौंमा मात्रै चीनले हालसम्म ७६ अर्ब ९२ करोड रुपैयाँ लगानी प्रतिवद्धता जाहेर गरेको छ । यस्तै काठमाडौंमै धेरै लगानी भित्र्याउने अन्य देशहरुमा क्रमशः भारत, हंगकंग, बेलायत, सिंगापुरलगायत देशहरु रहेका छन् । हालसम्म विश्वका ८२ देशहरुले काठमाडौंमा लगानीको प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL