Logo

अर्थमन्त्रीले भने, ‘यो देश व्यवसाय गर्नेको मात्रै होइन, कर व्यवसायीले हैन जनताले तिरेका हुन्’

अर्थमन्त्रीले भने, ‘यो देश व्यवसाय गर्नेको मात्रै होइन, कर व्यवसायीले हैन जनताले तिरेका हुन्’



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले यो देश व्यवसाय गर्नका लागि मात्र नभई आत्मनिर्भरतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । पछिल्लो समय व्यवसायीले आफ्नो स्वार्थ केन्द्रित मागहरु बढी राख्ने गरेकोतर्फ इन्गित गर्दै सरकारले व्यवसायीको हितमा मात्र नभई जनताको हितमा पनि काम गर्नुपर्ने बताएका हुन् ।

यसैगरी पछिल्लो समय उद्योगी व्यवसायीले कर बढी गरेको भन्दै गुनासो गर्न थालेको भन्दै उक्त कर सम्बन्धित व्यवसायी नभई जनताहरुले तिरेको बताएका छन् । साथै कर तिर्नु दबाब नभई आवश्यकता र कर्तव्य भएको उनको तर्क थियो । ‘पछिल्लो समय मैले देशलाई आत्मनिर्भर बनाउन सोहीअनुरुप कर नीतिहरुमा पुनरावलोकन गर्दै आएको छु,’ दशौं राष्ट्रिय कर दिवस कार्यक्रममा उनले भने, ‘पछिल्लो समय राज्य र जनता केन्द्रित नीति बनाउँदा कतिपय उद्योगी व्यवसायी व्यक्तिगत आक्षेप लगाउँदै शक्तिकेन्द्र धाउन थालेका छन्, त्यस्ता व्यक्तिहरु जहाँ गएपनि हुन्छ तर म राष्ट्र र जनताको हित हुने निर्णयबाट पछि हट्दिन ।’

पछिल्लो समय कर हुने व्यक्तिबाटै उठाउने र हुने व्यक्तिलाई दिने चलन चल्दै आएको भन्दै अबका दिनमा त्यस्ता नीतिमा समेत परिमार्जन गरिने उनको तर्क थियो । ‘करको सिद्धान्त हुने व्यक्तिबाट उठाएर नहुने व्यक्तिलाइ दिने वा उनीहरुका लागि खर्च गर्ने हो,’ उनले भने, ‘तर यहाँ हुने व्यक्तिबाट उठाएर उनीहरुलाई दिँईदै आएको छ जुन गलत हो ।’

यसैगरी पछिल्लो समय करतादाहरुको धेरै गुनासो आएको भन्दै त्यस्ता गुनासाहरु सम्बोधन गर्न छुट्टै इकाई स्थापना गरिने बताए । जसबाट सरकारी तवरबाट भएका ढिलासुस्ती तथा गलत क्रियाकलापलाई बाहिर ल्याउन मद्दत गर्नुका साथै व्यवसायीका समस्या समेत चाडो सम्बोधन हुने उनको तर्क थियो । यस्तै राजस्वको देखिएका समस्या समेत राजस्व अनुसन्धान विभागबाटै समाधान हुनुपर्ने उनको भनाई थियो ।

‘अहिले राजस्व अनुसन्धानमा पुगेका धेरै फाइलको मुद्दा दायर हुन्छ तर मुद्दा भने सरकारले जित्दैन,’ उनले भने, ‘त्यसको जाने ठाउँ कहाँ छ पत्तो छैन तसर्थ अबका दिनमा त्यस्ता समस्या विभागबाटै सम्बोधन गरेर टुङ्ग्याउनु पर्छ ।’ साथै उनले हाल प्रशासनिक पुनरावलोकनका लागि कति फाइल आएका छन् त्यसको समेत सम्पूर्ण जानकारी सार्वजनिक गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यसैगरी पछिल्लो समय व्यवसायीले न्यून बिजकीकरण गरेर सामान ल्याएको भन्दै त्यसतर्फ पनि ध्यान दिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । ‘अहिले हुण्डी भन्ने नदेखिने अवैध धन्दा मौलाएको छ,’ उनले भने, ‘तर हुण्डी नदेखिए पनि त्यसरी भएको अवैध कारोबार भन्सारमा सामान ल्याउन देखिने रहेछ ।’
यसैगरी राजस्व सचिव कृष्णहरि पुष्करले राष्ट्र र जनताको हितमा हुने गरी आएको व्यवसायीका राय सुझाव कार्यान्वयनमा लगिने बताउँदै कुनै व्यक्ति वा समुहको स्वार्थ केन्द्रित हुनेगरी आएको सुझावलाई सरकारले कार्यान्वयन नगर्ने बताए । साथै पछिल्लो समय व्यवसायीको गलत अभ्यासका कारणले गर्दा पनि बजारमा तरलता अभाव भएको भन्दै अबमा दिनमा त्यस्ता समस्या समाधान गर्न राज्य लागि परेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कर करले नभई रहरले तिर्ने वातावरण बनाउन आग्रह गरेका छन् । साथै उनले करको दायरा बढाउन अबका दिनमा कुनै पनि व्यक्तिले नागरिकता लिने बेलैमा प्यान नम्बर दिने व्यवस्था गरिनुपर्ने उनको सुझाव थियो । साथै उनले सरकारले लगाएको कर तिर्ने रकमको सीमा समेत ज्यादै न्यून रहेको भन्दै त्यसलाई बढाउन आग्रह गरेका थिए । पछिल्लो समय घरजग्गा कारोबारबाट राज्यले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको भन्दै अबमा दिनमा त्यसलाई करको दायरामा ल्याउँन ब्रोकर कम्पनी मार्फत घरजग्गा कारोबार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL