Logo

तीन महिनामा नेपालमा ५४ अर्बको पेट्रोलियम पदार्थ आयात, यस्ता छन् धेरै आयात हुने अन्य वस्तुहरु

तीन महिनामा नेपालमा ५४ अर्बको पेट्रोलियम पदार्थ आयात, यस्ता छन् धेरै आयात हुने अन्य वस्तुहरु



काठमाडौं । चालु आर्थिक बर्षको ३ महिना अर्थात साउनदेखि असोज महिनासम्म नेपालले ४ खर्ब ७८ अर्ब रुपैयाँ बढीको मालवस्तु विभिन्न देशहरुबाट आयात गरेको छ । यो तथ्यांक गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यही अवधिमा नेपालले विदेशका विभिन्न देशहरुबाट जम्मा २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको थियो ।

चालु आर्थिक बर्षको ३ महिनामा नेपालले गत बर्षको तुलनामा आयात वृद्धि गरेका केही बस्तुहरुले यो बर्ष आयातको हिस्सा बढाएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो बर्षको ३ महिनामा नेपालको आयात वृद्धिमा प्रमुख हिस्सा कच्चा भटमासको तेल रहेको छ । प्रशोधन नगरिएको कच्चा भटमास नेपाललमा ल्याई प्रशोधन गरेर तेल उत्पादन गरी विदेशमा निर्यात गर्ने क्रियाकलाप बढेपछि चालु आवको ३ महिनामा गत आवको सोही अवधिको तुलनामा यसको आयात १५३ दशमलव ३ प्रतिशतले बढेको देखिन्छ ।

चालु आवको साउनदेखि असोजसम्म नेपालले २० अर्ब ६१ करोड रुपैयाँ बराबरको कच्चा सोयावीन तेल आयात गरेको छ । यो पछिल्लो ३ महिनामा धेरै आयात हुने वस्तुको सूचिको चौथो स्थानमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै धेरै आयात वृद्धि भएको दोस्रो स्थानमा पेट्रोलियम पदार्थ रहेको छ । चालु आर्थिक बर्ष सबैभन्दा बढी मूल्यवृद्धि भएको यसको आयात गत आर्थिक बर्षको पहिलो ३ महिनाको तुलनामा यो बर्ष १३२ प्रतिशतले आयात बढेको छ ।

नेपालले पछिल्लो ३ महिनामा ५४ अर्ब १ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ । गत आवको सोही अवधिमा नेपालले २३ अर्ब १९ करोड रुपैयाँ बराबरको मात्रै पेट्रोलियम पदार्थको आयात गरेको थियो । यस्तै यो बर्ष गत आवको तुलनामा फलामको छड, तारलगायतको आयात पनि ह्वात्तै बढेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो ३ महिनामै नेपालले गत आवको सोही अवधिको तुलनामा फलामजन्य वस्तुहरुको आयात १२२ प्रतिशत बढी गरेको छ । गत आवको ३ महिनामा नेपालले यस्तो वस्तुहरु २ अर्ब ९६ करोड रुपैयाँ बराबरको गरेकोमा यो बर्षको पहिलो ३ महिनामा उक्त परिमाण बढेर ६ अर्ब ५९ करोड रुपैयाँ बराबरको आयात भएको हो ।

यस्तै गत बर्षको तुलनामा यो बर्ष औषधि, हटरोल्ड सिट, यातायातका साधन तथा उपकरणलगायतको आयातमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यी वस्तुहरुमा क्रमशः ६७, ६६ र ६४ प्रतिशतको वृद्धि भएको तथ्यांकमा उल्लेख छ । पछिल्लो ३ महिनामा धेरै आयात हुने वस्तुहरुको सूचिको पहिलो स्थानमा पेट्रोलियम पदार्थ, दोस्रोमा यातायातका साधन, तेस्रोमा मेशिनरी उपकरणलगायत रहेका छन् । यस्तै यो बर्ष धेरै आयात भएका वस्तुहरुमा दूरसंचारका उपकरण, कच्चा पाम तेल, एमएस बिलेटलगायतका वस्तुहरु रहेका छन् । राष्ट्र बैंकका अनुसार धेरै आयात हुने २० बस्तुले मात्रै नेपालको कुल आयातको ६१ प्रशित हिस्सा ओगटेका छन् ।

यस्तै चालु आवको ३ महिनामा नेपालले ६५ अर्ब रुपैयाँ बढीको वस्तु निर्यात गरेको छ । यो गत आर्थिक बर्षको पहिलो ३ महिनाका तुलनामा १०९ प्रतिशतले बढी हो । गत आवको पहिलो ३ महिनामा नेपालले विभिन्न देशमा ३१ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

यो बर्ष धेरै निर्यात वृद्धि भएका वस्तुहरुको सूचिमा भने क्रमशः पीना, भटमासको तेल, सुनचाँदीका गहना, रोसीनलगायतका वस्तुहरु रहेका छन् । यी वस्तुहरुको आयात गत बर्षको तुलनामा क्रमशः २४४, १८९, १६१ र ६८ प्रतिशतले बढ्दा यो बर्ष नेपालले आयात व्यापारमा उल्लेख्य प्रगति गरेको हो । यो बर्ष धेरै निर्यात हुने वस्तुहरुको सूचिमा भने भटमासको तेल, पाम तेल, पोलीस्टर धागो, उनको गलैँचालगायत रहेका छन् । चालु आवको ३ महिनामा नेपालले भटमासको तेल र पाम तेलमात्रै क्रमशः २२ अर्ब र १३ अर्बको निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL