Logo

नेपालको वैदेशिक व्यापार : तीन महिनामा ६५ अर्बको निर्यात, ४७८ अर्बको आयात

नेपालको वैदेशिक व्यापार : तीन महिनामा ६५ अर्बको निर्यात, ४७८ अर्बको आयात



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७८-७९ को तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा नेपालको वैदेशिक व्यापारमा निर्यातको अवस्था सुदृढ भएको उल्लेख छ । आर्थिक वर्ष २०७८-७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई रु.६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो ।

यो अवधिमा गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधीलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८-७९ को तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई रु.४७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

यस्तै निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८-७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई रु.४१३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु.५४ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.३३ अर्ब ९२ करोड बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४१.७६ प्रतिशत र ५८.२२ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको कुल निर्यातमा मध्यवर्ती, पूजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२.६ प्रतिशत, ०.९ प्रतिशत र ६६.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.० प्रतिशत, पूँजीगत वस्तुको ११.० प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.२ प्रतिशत, १३.१ प्रतिशत र ३५.७ प्रतिशत रहेका थिए ।

यस्तै वार्षिक विन्दुगत आधारमा २०७८ असोज महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क १०.४ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १३.९ प्रतिशतले बढेको छ । २०७७ असोज महिनामा ५.१ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ असोज महिनामा ३.१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रु.२३ अर्ब ७९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.११ अर्ब ९४ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १८३.८ प्रतिशतले वृद्धि भई रु.४ अर्ब २० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१ अर्ब ४८ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १८७.१ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.८ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.५ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४ अर्ब ४३ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL