काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिने बताएकी छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन आग्रह समेत गरिन् ।
‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ । यस सम्बन्धमा मैले अस्तिमात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिए । विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भएपनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी विक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा अनुमति दिन तयार छौँ,’ उनले भनिन् ।
नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको उनले बताइन् । विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको भनाइ उनको थियो ।