Logo

आजबाट पेट्रोलियम लोडिङ बढाउँदै आईओसी, दुइपाङ्ग्रेलाई वितरण अझै अन्योलमा

आजबाट पेट्रोलियम लोडिङ बढाउँदै आईओसी, दुइपाङ्ग्रेलाई वितरण अझै अन्योलमा


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले आजबाट पेट्रोलियम लोडिङ बढाउने भएको छ । लामो समयदेखि नेपाल आयल निगमलाई एकदमै कम पेट्रोलियम दिँदै आएकोमा आजबाट बृद्धि गर्ने जानकारी दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । ‘हामीलाई आईओसीले पेट्रोलियम बृद्धि गरेर दिने प्रतिवद्धता जनाएको छ,’ उनले भने, ‘तर, बेलुकासम्ममा कतिओटा ट्याङ्कर लोडिङ हुन्छ हेर्न बाँँकी छ ।’

घिमिरेका अनुसार आइओसीले आजबाट लोडिङ गरेको पेट्रोलियम सुनौली र नेपालगञ्ज नाकाबाट ल्याईने भएको छ । रक्सौल नाका बन्द हुँदा अन्य नाका प्रयोग गरेर ल्याउन लागिएको हो ।

सामान्य रुपमा नेपालमा दैनिक १ हजार १ सय किलोलिटर पेट्रोल तथा २ हजार ६ सय किलोलिटर डिजेल आवश्यकता पर्छ । तर, हाल दैनिक ३ सय केल मात्र पेट्रोलियम भित्रिरहेको निगमले जानकारी दिएको छ । आजबाट आईओसीले कति ट्याङ्कर बृद्धि गरेर लोडिङ गर्छ भन्ने विषयमा भने पूर्ण जानकारी नआएको निगमको भनाइ छ । सामान्य अवस्थामा काठमाडौंमा मात्र दैनिक ३ सय केल पेट्रोल खपत हुने गर्छ ।

दुईपाङ्ग्रे सवारीसाधनलाई वितरण अझै अन्योलमा

दुईपाङ्ग्रे सवारीसाधनलाई पेट्रोल वितरण अझै अन्योलमा रहेको छ । हाल चारपाङ्ग्रे सवारीसाधनलाई पेट्रोलियम वितरण गर्दै आएको निगमले दुई पाङ्ग्रे सवारीसाधनलाई भने तत्काल दिन नसकिने बताएको छ । ‘निगमसँग हाल १ हजार ३ सय केल पेट्रोल मौज्दात छ,’ घिमिरेले भने, ‘आज चारपाङ्ग्रे सवारीसाधनलाई कति वितरण हुन्छ त्यसपछि मात्र छलफल गरेर दुई पाङ्ग्रे सवारीलाई दिईने छ ।’ केही समयदेखि लट अनुसार चारपाङग्रे सवारीसाधनलाई वितरण गर्दै आएकोमा आजबाट सकिने छ ।

आईओसीबाट बढी लोडिङ भएर नआएसम्म दुई पाङ्ग्रे सवारीसाधनलाई पेट्रोल वितरण गर्न सक्ने अवस्था नरहेको घिमिरेले जानकारी दिए । ‘केही पेट्रोल सेक्युरिटीका लागि मौज्दात राख्नुपर्छ,’ उनले भने, ‘तसर्थ आइओसीबाट नआएसम्म दिन सकिने छैन ।’ तर, आजबाट आईओसीले लोडिङमा बृद्धि गर्ने जानकारी दिएकाले तत्काल वितरण गर्न सक्ने सम्भावना रहेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL