Logo

उपभोग्य वस्तुको मूल्य लगातार उकालो लाग्दै, चामलदेखि तरकारीसम्म महँगिदा गरिबलाई छाक टार्ने चिन्ता

उपभोग्य वस्तुको मूल्य लगातार उकालो लाग्दै, चामलदेखि तरकारीसम्म महँगिदा गरिबलाई छाक टार्ने चिन्ता



काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै विभिन्न पार्टीसम्बद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेका छन् । मंगलबार नेत्रविक्रम चन्द निकट नेपाल कम्युिनष्ट पार्टीले नेपाल बन्दसमेत गरेको छ । नेपाल आयल निगमले गत हप्ताको बुधबार रातिदेखि लागु हुनेगरी पहिलेको मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँ थपेपछि विभिन्न संगठनहरु आन्दोलित भएका छन् । यसअघि पनि निगमले प्रत्येक १५ दिनको फरकमा पेट्रोेलियमको मूल्य बढाउँदै आएको छ ।

अहिले नेपालमा पेट्रोलियममा मात्रै नभई अन्य उपभोग्य वस्तुहरुको पनि मूल्य लगातार बढिरहेको देखिन्छ । नेपाल खुद्रा व्यापार संघका अनुसार भन्छामा दैनिक आवश्यक खानेल, चिनी, नुन, चामललगायतको मूल्य पन अचाक्ली बढिरहेको अवस्था छ । संघका अनुसार चामलको मूल्य गत बर्षको तुलनामा १० देखि २० प्रतिशतसम्म बढ्दा खानेतेलको मूल्य अत्याधिक २ सय प्रतिशतसम्मले बढेको छ । उद्योगीहरुले अन्तरराष्ट्रिय बजारमै खानेतेलको कच्चा पदार्थको मूल्य बढेपछि नेपालमा खानेतेलको मूल्य बढेको बताउँदै आएका छन् । यस्तै यस अवधिमा नेपालमा अन्य खाद्यवस्तुहरु, घ्यु, नुन, दाललगायतको मूल्य पनि अत्याधिक बढेको संघको तथ्यांकले देखाउँछ । पछिल्लो समय लगातार उकालो लागेको मूल्यवृद्धको ग्राफले म्निदेखि मध्यमवर्गका नेपालीलाई भने कसरी छाक टार्ने भन्ने चिन्ता बढ्दै गएको छ ।

तरकारीको मूल्य अचाक्ली

बजारमा प्रायः खाद्यवस्तुको मूल्य बढिरहँदा तरकारीको मूल्य झन उकालो लागेको छ । पछिल्लो ३ महिनाको तथ्यांक हेर्दा धेरैजसो तरकारीको मूल्य सतप्रतिशत बढीले वृद्धि भएको देख्न सकिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो ३ महिनामा सबैभन्दा धेरै मूल्य वृद्धि भएको तरकारीहरुमा गोलभेडा, आलु, च्याउ, फर्सीलगायतको मूल्य आकाशिएको छ । मौसमी तरकारीहको सिजन सकिएको र नेपालमा उत्पादन कम हुँदा यो बर्ष तरकारीको मूल्य अत्याधिक बढेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

गत साउनयता भारतीय गोलभेडाको औषत मूल्य प्रतिकिलो शतप्रतिशतले बढेको छ । गत साउनमा भारतीय ठूलो गोलभेडाको मूल्य औषतमा ५०–६० रुपैयाँ रहेकोमा यसपाली बढेर प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुगेको छ । यस्तै नेपाली गोलभेडाको मूल्य पनि यस अवधिमा शतप्रतिशत बढेको देखिन्छ । ३ महिना अघि २० देखि ३० रुपैयाँ प्रतिकिलोको हिसावले विक्री भईरहेको नेपाली टमाटरको मूल्य हाल बढेर प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्म पुगेको छ । यस्तै बजारमा अन्य तरकारीको मूल्य पनि बढेको समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

पेट्रोलको मूल्य केन्द्रित आन्दोलन

बजारमा धेरैजसो बस्तुको मूल्य बढिरहेका बेला विद्यार्थी संगठनहरुले भने पेट्रोललाई मात्रै केन्द्रमा राखेर नाराजुलुस, आयल निगम घेराउ र नेपाल बन्दसम्मको घोषणा गरेका छन् । आयल निगमले तेलको मूल्य मात्रै बढाएको देख्ने विद्यार्थी नेताहरुले अन्य वस्तुको मूल्य बढेको नदेखेको अर्थशास्त्री अच्युत वाग्लेले एक कार्यक्रममा बताएका थिए । उनका अनुसार आयल निगमलाई राजनीति गर्ने थलो बनाएर विद्यार्थीले आन्दोलन गर्नुको औचित्य छैन । बजारमा अन्य उपभोग्य सामानको मूल्य बढ्नुमा विभिन्न कारक तत्वहरु भएपनि पेट्रोलको मात्रै मूल्य बढेको भन्दै आन्दोलन र नेपाल बन्दसम्म गर्नुको औचित्य नभएको उनको भनाई छ । नेपाल कम्युनीष्ट पार्टीले मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै नेपाल बन्दसमेत गरेको छ ।

मूल्य वृद्धिदर ४ प्रतिशतमाथि

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार पनि चालु आर्थिक बर्षको भदौ महिनासम्म नेपालमा विभिन्न वस्तुहरुको मूल्य वृद्धिदर करिव ४ प्रतिशतसम्म पुगेको छ । यस अवधिसम्म नेपालमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर २ दशमलव ५८ प्रतिशत पुग्दा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर ४ दशमलव ११ प्रतिशत पुगेको छ ।

यस अवधिमा सबैभन्दा बढि मूल्य वृद्धि भएको घ्यु, तेलको मूल्य गत आवको भदौको तुलनामा यो आवको भदौमा २८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै यस अवधिमा माछामासुको मूल्यसमेत गत आवको तुलनामा १० प्रतिशतले बढेको देखिन्छ । यसरी दिनानुदिन वस्तुको मूल्य वृद्धि भईरहँदा यसको अनुगमन गर्ने र कारबाही गर्ने निकाय भने मौन नै देखिन्छन् । उपभोक्ताले वस्तुको मूल्य वास्तविकभन्दा बढि तिरिरहने र विक्रेताले नाफा कमाईरहने प्रवृत्ति बढिरहेको बेलामा यसको नियमन र अनुगमन गर्ने निकाय वाणिज्य विभाग भने नेतृत्वविहिन छ ।

प्रतिक्रिया दिनुहोस्
MBL