Logo

अनुत्पादक क्षेत्रलाई कर्जा नदिन अर्थमन्त्रीको निर्देशनसँगै नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा समेत गिरावट

अनुत्पादक क्षेत्रलाई कर्जा नदिन अर्थमन्त्रीको निर्देशनसँगै नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकममा समेत गिरावट



काठमाडौं । तिहारपछि ओरालो यात्रा तय गरेको नेप्से परिसुचक आइतबार पनि घट्न पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से परिसुचक अन्त्यमा सामान्य रुपमा घट्न पुगेको छ ।

आईतबार नेप्से परिसुचक १.३८ अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भएको भन्दै कर्जा दिन बन्द गरेपछि त्यसको असर नेप्सेमा देखिएको छ । साथै गतहप्ता अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर तथा २७ ओटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरुलाई बोलाएर अनुत्पादक क्षेत्रमा कर्जा प्रबाह नगर्न निर्देशन दिएसँगै त्यसले बजारमा अझै ठूलो असर गर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाई गर्दै अघिकतम १२ करोड रुपैयाँको सीमा तोकिदिएसँगै त्यसले कारोबार रकममा गिरावट आएको थियो । तर पछिल्लो समय तरलता समस्याका कारण बैंकहरुले कर्जा नै दिन बन्द गरेपछि अझै ठूलो असर देखिन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो समय साना साना लगानीकर्ताहरुले समेत बैंकबाट कर्जा लिएर सेयरमा लगानी गर्दै आएका थिए,’ एक लगानीकर्ताले भने, ‘तर अहिले बजारमा तरलता अभाव भएको भन्दै बैंकले सेयर कर्जानै दिन बन्द गरेका छन् त्यसले बजारमा थप समस्या निम्त्याएको छ ।’

आईतबार बजार सामान्य अंकमा घटेपनि कारोबार रकमले साथ नदिँदा लगानीकर्ताहरु थप अन्यौलमा परेका छन् । गत साता अन्तिम दिन पनि कारोबार रकममा गिरावट आउँदै ५ अर्ब ११ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । तर, आज दिन कुल ४ अर्ब ९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा २३० कम्पनीको ७४ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्