Logo

स्वायत्त उपत्यका मेट्रोक्षेत्र अवधारणासहित घोषणापत्र जारी, उपत्यकालाई पर्यटकीय गन्तव्य बनाइने

स्वायत्त उपत्यका मेट्रोक्षेत्र अवधारणासहित घोषणापत्र जारी, उपत्यकालाई पर्यटकीय गन्तव्य बनाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपत्यकाको एकीकृत विकासका लागि स्वायत्त उपत्यका मेट्रो क्षेत्रको अवधारणा कार्यान्वयन गर्नुपर्ने निचोडसहितको १० बुँदे गोदावरी घोषणापत्र जारी भएको छ । ‘उपत्यकाको एकीकृत विकासको प्रारूप’ विषयक २ दिने कार्यशालाले संघीय राजधानीको समग्र विकासका लागि अविलम्ब स्थानीय तहको अन्तरिम निर्वाचन गरिनुपर्ने औल्याएको छ ।

घोषणापत्र जारी गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत रुद्रसिंह तामाङले उपत्यकालाई आधुनिक, प्रविधिमैत्री, सुरक्षित र शान्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ‘स्वायत्त उपत्यका मेट्रो क्षेत्र’ कार्यान्वयन हुनुपर्ने बताए । साथै ऐतिहासिक र सांस्कृतिक पहिचान कायम राख्दै पर्यटकीय गन्तव्य बनाउन राजनीतिक, कानूनी तथा व्यवस्थापकीय प्रबन्ध गर्नका लागि पहल गर्न अनुरोध गर्ने जानकारी दिए ।

समान प्रकृतिका कार्यहरूमा उपत्यकाभित्रका स्थानीय सरकारहरूले एकीकृत रूपमा काम गर्न नीति, निर्णय र कार्यप्रणालीमा एकरूपता कायम गरी प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्धता समेत सो घोषणापत्रमा गरिएको छ । त्यस्तै उपत्यकाको वातावरण संरक्षणमा एकीकृत प्रयास गर्दै सार्वजनिक–निजी साझेदारी अवधारणा अनुरूप दिगो शहरी विकासका एकीकृत कार्यक्रमहरू सञ्चालन गर्नेसमेत घोषणापत्रमा उल्लेख छ ।

त्यसका लागि आवश्यक कानूनी तथा संस्थागत प्रबन्धको बारेमा ठोस प्रस्ताव तयार गर्न विज्ञ समूहहरू बनाई छलफल थालिने बताईएको छ । सूचना प्रविधिको प्रयोगलाई स्थानीय शासन प्रणालीको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्दै छिटो, छरितो, प्रभावकारी र कम खर्चिलो सेवाप्रवाह प्रणाली सञ्चालन गर्ने प्रतिबद्धतासमेत घोषणापत्रमा उल्लेख छ ।

कार्यशाला काठमाडौं महानगरपालिका, उपत्यकाका ३ ओटै जिल्ला विकास समिति र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यशालामा संघिय मामिला तथा स्थानिय विकास मन्त्री विराज बहादुर विष्टले उपत्यकाको माग अनुसारको भौतिक योजना आवशयक भएको बताए ।

कार्यशालामा सहभागी विभिन्न विज्ञहरुले उपत्यकाको विकाशका लागि महानगर र सरकारले बनाएको योजनामा समन्वय हुनुपर्ने बताएका थिए । महानगरका पीपीपी शाखाका प्रमुख शिव अधिकारी, पव्लिक वर्क कन्ष्ट्रक्सनका प्रमुख डा. उत्तर रेग्मीलगायतले महानगरको भावी योजना सहितका कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्