Logo

आयल निगमको घाटा शून्यमा झार्न खाना पकाउने ग्याँसको मूल्य २२ सय पुर्याउनुपर्ने, के भन्छ निगम ?

आयल निगमको घाटा शून्यमा झार्न खाना पकाउने ग्याँसको मूल्य २२ सय पुर्याउनुपर्ने, के भन्छ निगम ?



काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ पुर्याउँदा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य क्रमशः १३६ र ११९ रुपैयाँ प्रतिलिटर पुर्याईएको छ ।

पछिल्लो मूल्यवृद्धि पछि पनि निगमललाई १५ दिनमा २ अर्ब ६२ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा लगातार बढीरहेको मूल्य र सोहीअनुसार नेपालमा समायोजन गर्न नसक्दा निगम लगातार घाटामा गइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

पछिल्लो १ बर्षमा अन्तररािष्ट्रय बजारमा कच्चा पेट्रोलियम पदार्थको मुल्य दोब्बरभन्दा बढीले बढेको छ । अर्थात गत बर्षको नोभेम्बरमा ४३.८ डलर प्रतिब्यारल रहेको कच्चा तेलको मूल्य यो बर्षको नोभेम्बरसम्म आईपुग्दा प्रतिब्यारल ८४ डलर पुगेको छ । तर, नेपालमा भने अन्तरराष्ट्रिय मूल्यअनुसार तेलको मूल्य समायोजन नभएपछि निगम लगातार घाटामा गएको देखिन्छ ।

अन्तररािष्ट्रय मूल्यसँग नेपालको मूल्य तुलना गर्दा गत बर्षको तुलनामा नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य दोब्बरले बढाउँदा प्रतिलिटर क्रमशः २ सय १६ र १८२ रुपैयाँ पर्नुपर्ने हो । गत बर्षको यही अवधिमा नेपालमा पेट्रोल, डिजेल÷ मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १०८ र ९१ रुपैयाँ थियो । त्यसयता निगमले पेट्रोलको मूल्य प्रतिलिटर २८ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १८ रुपैयाँले बढाएको छ ।

आयल निगमको स्वचालित मूल्य समायोजन प्रणाली र बजारका अन्य समस्याका कारण सोही अनुसार मूल्य बढाउन नपाउँदा हाल निगमले पेट्रोलमा प्रतिलिटर १७.५८, डिजेल र मट्टितेलमा १३.१४ र ग्याँसमा प्रतिसिलिण्डर ६५७.८४ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । तर, उक्त घाटा पुर्ति गर्नेगरी निगमले मूल्य बढाएको अवस्थामा नेपालमा हालको मूल्यअनुसार पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर १५३.५८ र १३२.१४ रुपैयाँ पर्नेछ । यता खाना पकाउने ग्याँसको मूल्य भने घाटाको मूल्य पनि जोडेर बेच्दा काठमाडौं उपत्यकामै २ हजार २ सय ३२ दशमलव ८४ रुपैयाँ पर्ने देखिन्छ ।

यसरी लगातार घाटामा गईरहेको निगमले भने एक्कासी उपभोक्तालाई भार नपर्ने गरी मुल्य समायोजन गरिरहेको जानकारी दिएको छ । निगमको प्रवक्ता उपाध्यायका अनुसार निगमको स्वचालित मूल्य प्रणाली अनुसार ईन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचिअनुसार नेपालमा तेलको मूल्य थपघट गरिन्छ । जसमा प्रत्येक १ तारिख र १५ तारिखमा आउने मूल्यमा नेपाल आयल निगमले २ प्रतिशतसम्म मात्रै मूल्य थपघट गरी विक्री गर्न पाउँछ । जसका कारण नेपालमा तेलको मूल्य अन्तरराष्ट्रिय मूल्यअनुसार समायोजन हुन सकेको छैन ।

यसअघि पनि बेलाबेलामा निगमले पछिल्लो समय निगम लगातार घाटामा रहेको बताउँदै आएको छ । निगमले हाल मासिक न्युनतम ६ अर्ब रुपैयाँ घाटा ब्यहोरिरहेको प्रवक्ता उपाध्याय बताउँछन् । उनका अनुसार मूल्य समायोजनमा कम मूल्य थप्ने र अन्तरराष्ट्रिय मूल्य लगातार बढिरहेकाले निगमको घाटा चुलिँदो छ । अझै अन्तरराष्ट्रिय मूल्य बढिरहेकाले आगामी दिनमा पनि तेलको मूल्य बढाउँदै लैजाने बाध्यतामा निगम रहेको उनले बिजखबरलाई जानकारी दिए ।

‘हामीले तेलको मूल्य एक्कासी धेरै अन्तरले बढाउँदैनौं, यसले बजारमा नकारात्मक असर पर्नुका साथै उपभोक्तालाई अप्ठ्यारो अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘हामी सकेसम्म निगम घाटामा नजाओस र उपभोक्ता पनि मारमा नपरुन भन्ने मनसायले अघि बढिरहेका छौं ।’ यसरी निगमले अझै विस्तारै तेलको मूल्य बढाउँदै घाटा पुर्ति गर्ने बाटो समात्ने योजना बनाएको देखिन्छ ।

खपत झन बढ्दैं

पछिल्ला बर्षहरुमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेपनि यसको खपतमा भने अझै कमी आउन सकेको छैन । कोरोना महामारीका कारण यसको खपतमा केही कम आएपनि नेपालमा पछिल्ला बर्षहरुमा बार्षिक ८ देखि १० प्रतिशतसम्म पेट्रोलियमको खपत बढिरहेको निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउँछन् । पेट्रोल डिजेललगायत उर्जाको विकल्प नभएकाले र राज्यले सोही अनुसार काम नगरेकाले पेट्रोलियमको खपत लगातार बढिरहेको उनी बताउँछन ।

सरकारले विदेशबाट आयात गरिने पेट्रोलियमको खपत घटाई नेपालमा उत्पादित विजुलीको खपत बढाउने नीति लिएको छ । तर, नीति मात्रै बन्ने र कार्यान्वयन हुन नसक्ने अवस्थाका कारण पनि पेट्रोलियम पदार्थको खपतमा कमी आउन नसकेको देखिन्छ । आयल निगमकै तथ्यांक हेर्दा पनि ५ बर्षमा नेपालको पेट्रोल आयात मात्रै २६ लाख किलोलिटरले बढेको देखिन्छ ।

निगमका अनुसार आर्थिक बर्ष २०७२÷७३ मा नेपालले २ लाख ४० हजार किलोलिटर पेट्रोल आयात गरेको थियो । यस्तै उक्त बर्ष ७ लाख ८५ हजार किलोलिटर डिजेल र १४ हजार १ सय ९४ किलोलिटर मट्टितेल आयात गरेको थियो । उक्त परिमाण आर्थिक बर्ष २०७६÷७७ मा बढेर पेट्रोल ५ लाख १२ हजार किलोलिटर, डिजेल १४ लाख ७३ हजार किलोलिटर र मट्टितेल १८ हजार ९ सय २४ किलोलिटर आयात भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL