Logo

हुलास इन्फ्राले डेढ अर्ब लगानीमा नयाँ उद्योग खोल्दै, बिजुलीका पोल तथा फलामका निर्माण सामग्री उत्पादन गर्ने

हुलास इन्फ्राले डेढ अर्ब लगानीमा नयाँ उद्योग खोल्दै, बिजुलीका पोल तथा फलामका निर्माण सामग्री उत्पादन गर्ने



काठमाडौं । हुलास इन्फ्राले पर्सा जिल्लामा डेढ अर्ब बढी लगानीमा फलामजन्य निर्माण सामग्रीको उद्योग स्थापना गर्ने भएको छ । पर्सा जिल्लाको विन्दावासिनी गाउँपालिका २ स्थित बहुअर्वाभाठामा उद्योग स्थापना हुनेगरी हुलास इन्फ्राले उद्योग विभागमा १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जनाएको हो ।

कम्पनीले बार्षिक ८ हजार १ सय मेट्रिकटन एमएस स्ट्रक्चर, ४ हजार ५ सय मेट्रिकटन जिआई स्ट्रक्चर र १० हजार मेट्रिकटन ग्याल्भनाईज्ड उत्पादन गर्नेगरी लगानी प्रतिवद्धता जनाएको हो । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार कम्पनीले कुल पुँजी १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ राखेर १ सय २३ जनालाई रोजगारीको अवसरसमेत सिर्जना गर्ने बताएको छ ।

२५ सय केभिए विद्युत खपत गर्नेगरी लगानी प्रतिवद्धता जनाएको कम्पनीले अस्थायी घर तथा वासस्थानका लागि आवश्यक फलामका स्ट्रक्चरहरु निर्माण गर्न लागेको हो । यस्तै कम्पनीले सडक साइडका लागि बार, विद्युत पोलगायत पनि उत्पादन गर्ने प्रतिवद्धता विभागमा जाहेर गरेको छ ।

उक्त कम्पनीको मातहतमा बार्षिक ९ हजार ९ सय मेट्रिक टन ग्याल्भनाईज्ड पाईप, ३ हजार मेट्रिकटन जीआई पोल र ६ हजार मेट्रिकटन सडकको साईडमा राखिने बार उत्पादन गर्नेछ । यस्तै कम्पनीले अन्य फलामजन्य निर्माण सामग्री तथा पुर्लीनहरुसमेत उत्पादन गर्ने जानकारी दिएको हो ।

यसअघि कम्पनीले आफ्नो उद्योग स्थापनाका लागि सार्वजनिक जग्गा हडपेको भन्दै स्थानीयले विरोध जनाएका थिए । उद्योगले वीरगन्ज–पोखरिया सडक खण्डको ढंगई नदीको पुलदेखि दक्षिण तर्फ करिब ३ किलोमिटरसम्म खोलाको किनारै किनार ठूलो पर्खाल निर्माण गरी जग्गा अतिक्रमण गरेको आरोप छ । नदीको बहाव नै परिवर्तन हुने गरी सार्वजनिक जग्गा कब्जा गरेको भन्दै बहुअर्वाभाठाका स्थानीयले विरोध जनाएका थिए । तर, उद्योगले भने जग्गा अतिक्रमण नगरेको र आफुसँग सबै कागजात सुरक्षित रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्