Logo

‘ग्रे मार्केट’ का कारण मोबाइलको वैध बजार धराशायी बन्दै : व्यवसायी निराश, देशलाई अर्बौ घाटा

‘ग्रे मार्केट’ का कारण मोबाइलको वैध बजार धराशायी बन्दै : व्यवसायी निराश, देशलाई अर्बौ घाटा



काठमाडौं । पछिल्लो समय नेपालमा अवैध रुपमा आयात भएका मोबाइल सेटका कारण व्यवसायीहरु समस्यामा परेका छन् । अबैध तरिकाले आयात भएको मोबाइलको बजार (ग्रे मार्केट) फष्टाउँदा नेपालमा वैध आयात भएका मोबाइलको बजारमा सुनसान बनेको छ । भन्सार विभागको तथ्यांकमा पछिल्लो ३ महिनामै २२ लाख सेट मोबाइल आयात भएको देखिएपनि त्यही अनुसारको व्यापार नहुँदा वैध रुपमा व्यापार गरिरहेका व्यापारी मर्कामा परेका छन् ।

अहिले बजारमा मोबाइल अत्याधिक स्टक भएपनि व्यापारमा भने तीव्र गिरावट आएको मोबाइल इम्पोर्टस एसोसि एसनका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए । हाल कुल मोबाइल बजारको ४० प्रतिशत हिस्सा नै ग्रे मोबाइलको मार्केटले ओगटेपछि वैधानिक रुपले आयात भएका मोबाइलको व्यापार घटेको उनको भनाई छ ।

चालु आर्थिक बर्षको बजेट भाषणमा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले साउनदेखि अवैध मोबाईल आयातमा रोक लगाउने र दर्ता नगरी मोबाइल संचालन गर्न नपाउने व्यवस्था गर्दा केही दिने मोबाइलको ग्रे मार्केट सुस्त थियो । साउन र भदौ महिनामा ग्रे मार्केटबाट आएका मोबाइलको संख्या त्यो बेला शुन्य भएका कारण वैध आयात भएका मोबाइलको व्यापार फस्टाएको पनि थियो ।

तर, बजेट भाषणमा भनेबमोजिम नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु नगर्दा पुनः ग्रे मार्केट सलबलाएको मल्होत्रा बताउँछन् । ‘हामीले त्यो बेलाको व्यापारलाई ध्यानमा राखेर साउन र भदौमा उल्लेख्य मात्रामा मोबाइल आयात गर्याैं’, उनले भने, ‘तर, हाल पुनः ग्रे मार्केट सलबलाएपछि हाम्रो ब्यापारमा उच्च गिरावट आयो ।’ उनले नेपाल दूरसंचार प्राधिकरणले बजेट भाषणअनुसार एमडीएमएस सिस्टम लागु नगरिदिँदा वैध मोबाइल आयात गर्ने ब्यापारीहरुलाई ठूलो नोक्सान भएको उनले बताए ।

प्राधिकरणले एमडीएमएस प्रणाली अझै लागु नगर्दा ब्यापारीलाई त घाटा छदैछ राज्यले पनि अर्बाैं राजश्व गुमाइरहेको उनको भनाई छ । ‘हाल कुल मोबाइल बजारको ४० प्रतिशत भन्दा बढी बजार ग्रे मार्केटले ओगटेको छ’ उनले भने, ‘यसलाइ रोक्न सकियो भने प्रतिमहिना अर्बाै राजस्व राज्यले उठाउन सक्छ ।’

मोबाइको स्टक पर्याप्त

व्यवसायीहरुअहिले बजारमा मोबाईल फोनके स्टक पर्यापत भएको बताउँछन् । बजारमा प्राय सबै ब्राण्डका मोबाइलहरुको स्टक पर्यापत भएको मल्होत्राले बताए । उनका अनुसार अन्तरराष्ट्रिय स्तरमै चिप्सका अभावका कारण नेपालमा १५ देखि ३० हजारसम्म पर्ने ३ देखि ४ मोडलको सामसङ फोनहरुको भने अहिले सर्टेज छ । यी सेटहरुको माग बजारमा भइरहेपनि सोहीअनुसार उपभोक्तालाई उपलब्ध गराउन नसकेको उनले बिजखबरलाई बताए । तर, अन्य मोडल तथा ब्राण्डका फोनहरु भने पर्याप्त रहेको उनले बताए ।

मोबाइल वितरक संघका अध्यक्ष जगत साउद पनि बजारमा पर्याप्त आयात भएका मोबाईलका कारण स्टक फुल भएपनि ब्यापारमा भने उच्च गिरावट आएको बताउँछन् । यो बर्षको दशैंमा धेरै विक्री हुने आशमा धेरै मोबाइल आयात गर्दा बजारमा पर्याप्त मोबाइल स्टक रहेको उनको भनाई छ । दशैं अघि मोबाइलको व्यापार उच्च भएपनि हाल भने सुक्दै गएको जस्तो भएको उनले बताए । ‘हामीले पोहोर परारको दशैंमा प्रतिदिन १ सय ५० सेटसम्म मोबाईल विक्री गर्ने गरेका थियौं,’ उनले भने, ‘यसपालिको दशैंमा पनि जम्मा ४० देखि ५० सेट मोबाईल मात्रै विक्री भयो ।’

कहिले लागु हुन्छ एमडीएमएस प्रणाली ?

यता जग्गा विवादमै अड्किएको नेपाल दूरसंचार प्राधिकरणले भने अब चाँडै एमडीएमएस प्रणाली लागु गर्ने बताएको छ । यो प्रणाली राख्न चावहिलमा भवन निर्माण गरिरहेको प्राधिकरणले यसका लागि सेकेन्ड फेजको सामान ल्याउने प्रक्रिया थालेको बताएको हो । सेकेण्ड फेजको केही उपकरण आएपछि चाँडै उक्त प्रणाली संचालनमा आउने प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए । उनका अनुसार रेडियो नेपालको खुमलटारको जग्गामा राख्ने तयारी गरिएपनि सोही जग्गा विवादका कारण हालसम्म यसमा ढिलाई भएको हो । अब रेडियो नेपालको जग्गा नपाइएपछि प्राधिकरणको चावहिलको जग्गामै बन्न लागेको भवनमा उक्त प्रणाली राख्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL