Logo

मोबाइल सेटको आयातमा उच्च वृद्धि, तीन महिनामै १७ अर्ब १७ करोडको मोबाइल सेट नेपाल भित्रियो

मोबाइल सेटको आयातमा उच्च वृद्धि, तीन महिनामै १७ अर्ब १७ करोडको मोबाइल सेट नेपाल भित्रियो



काठमाडौं । नेपालमा मोबाइल सेटको आयातमा उच्च वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो ३ महिनामै १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बढीको मोबाइल सेट आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो तथ्यांक गत आर्थिक बर्षको सोही अवधिको तुलनामा भण्डै ६ अर्बले बढी हो । गत आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालले ११ अर्ब १० करोड १२ लाख रुपैयाँ बराबरको १५ लाख २ हजार १५ सेट मोबाईल आयात गरेको थियो ।

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा मात्रै नेपालले १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरका २२ लाख ९ हजार १ सय ७६ सेट मोबाईल आयात गरेको देखिन्छ । अर्थात सेटका आधारमा पनि गत बर्षको सोही अवधिको तुलनामा नेपालले पछिल्लो ३ महिनामा ७ लाख ७ हजार १ सय ६१ सेट बढी मोबाइल आयात गरेको छ ।

डिजिटल प्रविधिको विकास र प्रविधिमा बढदो निर्भरताका कारण मोबाईल सेटको आयात उच्च भएको व्उयवसायी बताँछन् । बर्षभर आयात हुने मोबाईल ३ महिनामै आयात हुँदा नेपालमा प्रविधिको उपयोग राम्रो र धेरै भएको मान्न सकिने मोबाईल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।

नेपालले गत आर्थिक बर्षमा अर्थात २०७७ साउनदेखि २०७८ असार मसान्तसम्म ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरका ७० लाख ३० हजार ३ सय ६६ सेट मोबाईल आयात गरेको थियो । यस्तै पछिल्लो ५ बर्षको तथ्यांकलाई केलाउँदा पनि नेपालमा मोबाईल आयातको परिमाणमा उच्च वृद्धि हुँदै गएको देखिन्छ ।

व्यापार तथा निर्यात प्रर्वद्धन केन्द्र (टिईपीसी)का अनुसार आर्थिक बर्ष २०७३/७४ मा नेपालले २२ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको मोबाईलहरु आयात गर्दा त्यसको पछिल्लो बर्ष २०७४/७५ मा २४ अर्ब ८७ करोड रुपैयाँको आयात गरेको थियो ।

यस्तै आर्थिक बर्ष २०७५/७६ मा भने नेपालमा मोबाईल आयात घटी १९ अर्ब २७ करोडमा पुगेको थियो । त्यसपश्चात अर्को बर्ष अर्थात आर्थिक बर्ष २०७६/७७ मा पनि आयात घटेर जम्मा १८ अर्ब १७ करोड रुपैयाँको मात्रै आयात भएको छ ।

तर, आर्थिक बर्ष २०७७/७८ मा भने यसको आयातमा अघिल्लो बर्षको तुलनामा झण्डै शतप्रतिशतको वृद्धि हुँदा ३६ अर्ब ९० करोड रुपैयाँको मोबाईल आयात भएको देखिन्छ । कोरोना महामारी र यसले निम्त्याएको लकडाउनका कारण विद्यालयमा अनलाईन क्लासदेखि कार्यालयहरुमा वर्क फ्रम होमको अवधारणामा तीव्र वृद्धि भयो । जसका लागि ल्यापटप तथा मोबाइल अनिवार्य भएपछि यसको व्यापार बढेको मोबाईल वितरक संघका अध्यक्ष जगत साउद बताउँछन् । उनका अनुसार यो बर्षको दशैंभन्दा अघि नै मोबाईल पसलहरुमा मोबाईल नै रित्तिने गरी मोबाईलको विक्री भएको थियो ।

‘हामीले यो बर्षको दशैं अघि नै दशैंको जस्तै व्यापार गर्यौं कतिपय पसलमा त प्रतिदिन १ सय ५० सेटसम्मको मोबाईल विक्री भएको थियो,’ उनले भने, ‘दशैं अघि नै यस्तो व्यापार भएको देखेपछि मोबाईल आयातकर्ताले पनि आशमा धेरै मोबाईल आयात गरेकाले आयातको तथ्यांक उकालो लागेको हो ।’ उनले दशैंका लागि भन्दै आयात गरेका धेरैजसो मोबाइलहरु नबिकेर स्टकमा रहेको समेत बताए । उनका अुनसार आयातकर्ताले धेरै मोबाईल विक्री हुने आशमा एकैपटक धेरै मोबाईल आयात गर्दा मोबाइलको स्टक फुल छ ।

यो बर्षको दशैंमा धेरै मोबाईल सेटहरु विक्री भएनन् । र सोही अनुसार बजारमा हाल मोबाईल छ्यालब्याल भएको उनले बताए । यस अवधिमा ल्यापटपको आयात पनि ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको पुगेको थियो । त्यसको अघिल्लो बर्ष अर्थात आर्थिक बर्ष २०७६/७७ मा भने नेपालले जम्मा १६ करोड ४७ लाख रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुकहरु आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL