Logo

प्रशोधित उद्योगले धानेको निर्यात : स्वदेशी उत्पादनको हिस्सा घट्दै, निर्यात व्यापारमा पनि आयातकै भर

प्रशोधित उद्योगले धानेको निर्यात : स्वदेशी उत्पादनको हिस्सा घट्दै, निर्यात व्यापारमा पनि आयातकै भर



काठमाडौं । चालु आर्थिक बर्ष २०७८ ७९ को पहिलो ३ महिनामा नेपालले ५ खर्ब ४३ अर्ब रुपैयाँ बढीको वैदेशिक व्यापार गर्याे । जसमा निर्यात व्यापारको हिस्सा ११ दशमलव ९७ प्रतिशत छ भने आयात व्यापारको हिस्सा ८८ प्रतिशत छ । अर्थात नेपालले कुल वैदेशिक व्यापारको जम्मा ११ प्रतिशत मात्रै निर्यात व्यापार गर्दा ६५ अर्ब ५ करोड रुपैयाँ बराबरको नेपाली वस्तु विदेश निर्यात भयो । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १ सय ९ प्रतिशतले बढी हो ।

नेपालबाट यस अवधिमा सबैभन्दा बढी निर्यात भएको वस्तुको पहिलो स्थानमा प्रशोधित खानेतेल छ । नेपालले विदेशका विभिन्न देशबाट कच्चा तेल आयात गरेर प्रशोधन गरी भारतलगायतका देशमा बेच्ने गर्दछ । अर्थात नेपालले आफ्नै उत्पादनको कच्चा पदार्थ नभई कच्चा पदार्थ शतप्रतिशत विदेशबाटै आयात गरेर प्रशोधन गरी तेल विदेशी बजारमा पठाएपछि पछिल्लो केहि बर्षदेखि नेपालको निर्यात व्यापार पनि उकालो लाग्न थालेको छ ।

नेपालले प्रशोधित तेल निर्यात गरेकै आधारमा पछिल्लो ३ आर्थिक बर्ष नेपालको व्यापारघाटा केही कम भएको छ भने निर्यात व्यापार पनि उच्च वृद्धि भएको देखिन्छ । गत आर्थिक बर्षमा नेपालले १ खर्ब ४१ अर्ब रुपैयाँ बढीको निर्यात व्यापार गरेको थियो । अर्थात नेपालले पहिलोपल्ट निर्यातको व्यापार १ खर्ब बढी पुर्याएको थियो । उक्त बर्ष नेपालले ५५ अर्ब ९५ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको थियो । यो भनेको कुल निर्यातको करिव ४० प्रतिशत बढी हो । अर्थात उक्त आर्थिक बर्ष नेपालले गरेको कुल निर्यातको ४० प्रतिशत हिस्सा प्रशोधित खानेतेलले ओगटेको छ ।

नेपालको व्यापारमा आर्थिक बर्ष २०७५ ७६ सालदेखि सुरु भएको प्रशोधित तेलको निर्यातले हालसम्म लय समातिरहेको छ । तर प्रत्येक बर्ष हुने तेलको निर्यात आयातित कच्चा पदार्थभन्दा कम परिमाणमा हुँदा व्यापारघाटामा पनि यसको ठुलो योगदान रहँदै आएको तथ्यांकले देखाउँछ । आर्थिक बर्ष २०७५ ६६ मा नेपालले निर्यात गर्ने खानेतेलको परिमाण आयातित कच्चा तेलको परिमाणभन्दा कम हुँदा यसबाट मात्रै २४ अर्ब १६ करोड ८१ लाख रुपैयाँ बराबर व्यापारघाटा व्यहोरेको थियो । त्यसपश्चात आर्थिक बर्ष २०७६ ७७ मा नेपालले खानेतेलको व्यापारमा १९ अर्ब ५ करोड रुपैयाँ र २०७७ ७८ मा २६ अर्ब ९४ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको अवस्था छ ।

यसरी एकातर्फ प्रशोधित खानेतेलले तथ्यांकमा नेपालको निर्यात व्यापारमा वृद्धि गराईरहेको देखाएपनि कच्चा पदार्थ पूर्णरुपमा स्वदेशी नहुँदा सोहीअनुसारको व्यापारघाटामा पनि खानेतेलकै हिस्सा देखिन्छ । यसरी खानेतेलमात्रै नभई अन्य नेपाली उत्पादनहरुको अवस्था पनि त्यस्तै छ । खानेतेलको निर्यात बढ्नुभन्दा पहिलेका बर्षहरुमा नेपालबाट चिया, कफी, गलैँचा, पश्मिनालगायत टेक्सटाईलको निर्यात वृद्धि हुने अवस्थामा थियो । तर, एकाएक वैदेशिक व्यापारमा तेलको निर्यात र आयात दुबै उकालो लाग्न थालेपछि स्वदेशी उत्पादनहरुको महत्व घटेको र प्राथमिकतामा पनि पर्न छाडेको देखिन्छ ।

आर्थिक बर्ष २०७४÷७५ सालको तथ्यांकलाई केलाउँदा उक्त बर्ष नेपालले चिया र कफी मात्रै ९ अर्ब २० करोड १७ लाख रुपैयाँको निर्यात गरेको थियो । यस्तै हातले बुनेका लुगा र गलैँचा क्रमशः ८ अर्ब ४२ करोड र ७ अर्ब ३७ करोड रुपैयाँको निर्यात गरेको तथ्यांकमा उल्लेख छ । यी वस्तुहरु शुद्ध नेपाली उत्पादन हुन् । तर, पछिल्लो समय यी वस्तुहरुको निर्यातभन्दा प्रशोधित वस्तुहरु जस्तै खानेतेल, फलामजन्य वस्तुलगायतको निर्यात उच्च छ ।

आर्थिक बर्ष २०७५ ७६ मा नेपलले हातले बुनेका लत्ताकपडा, चिया कफी, गलैँचाको निर्यात क्रमशः ९ अर्ब ७८ करोड, ८ अर्ब ३४ करोड, ७ अर्ब ७१ करोड रुपैयाँको भएको छ । यस्तै सोही वस्तुहरुको निर्यात आर्थिक बर्ष २०७६ ७७ मा भने ७ अर्ब २५ करोड, ७ अर्ब ५२ करोड र ६ अर्ब ४६ करोड रुपैयाँको मात्रै भएको देखिन्छ । अर्थात नेपाली वस्तुहरुको निर्यात बढ्नुको साटो प्रत्येक बर्ष घटिरहेको तथ्यांकमा देखिन्छ । यति मात्रै नभई नेपालले उल्लेख्य निर्यात गर्ने गरेको जनावरको खाना, टेक्सटाईललगायतको निर्यातको व्यापारमा पनि उत्तिकै मात्रामा गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL