Logo

विद्युतको नयाँ महशुल निर्धारण : २० युनिटसम्म ३० रुपैयाँ, सिंचाई ५० प्रतिशत घट्दा उद्योगीलाई सामान्य राहत (पूर्णपाठ)

विद्युतको नयाँ महशुल निर्धारण : २० युनिटसम्म ३० रुपैयाँ, सिंचाई ५० प्रतिशत घट्दा उद्योगीलाई सामान्य राहत (पूर्णपाठ)



काठमाडौं । सरकारले विद्युतको महशुल घटाएको छ । विद्युत् नियमन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ महसुल दर सार्वजनिक गरेको हो । नयाँ महसुल दरअनुसार अब २० युनिटसम्म विद्युत् खपत गर्नेले न्यूनतम शुल्क ३० रूपैयाँ मात्रै तिरे पुग्नेछ । तर, २१ युनिट खपत गर्नेले प्रतियुनिट ३ रूपैयाँका दरले शुल्क तिर्नु पर्ने छ । आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा नयाँ महसुल दर तय गरेको आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए ।

मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिरे हुनेछ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब १९ लाख ग्राहकले लाभ लिने छन् ।

सोमबार बसेको आयोगको १४० औं बैठकले २०७८ मङ्सिर महिनादेखिको विद्युत खपत र २०७८ पौष महिनादेखिको बिलिङ्गमा लागू हुने गरी विद्युत उपभोक्ता महसुल दर निर्धारण गरेको हो । प्राधिकरणको निर्यातबाहेक अन्य उपभोक्ताको हकमा औसतमा १.०४ प्रतिशतले महसुल घट्ने गरी आयोगले महसुल दर निर्धारण गरेको हो ।

आयोगले नेपाल सरकारको नीति, प्राधिकरणको वित्तीय अवस्था एवम् उपभोक्ता हितलाई मध्यनजर गर्दै उपभोक्ता महसुल दर निर्धारण गर्नु आयोगको दायित्व भएको उललेख गरेको छ । वर्षायाम तथा अफ पिक समयमा नेपालभित्रको खपतका लागि आवश्यक मागभन्दा बढी विद्युत उत्पादन भइरहेको र सोको व्यवस्थापनको सम्बन्धमा छिमेकी मुलुकहरूसँग कानूनी सम्झौताको लागि गृहकार्य चलिरहेको अवस्थामा आन्तरिक रूपमा खपत बढाउन उपभोक्तालाई प्रोत्साहित गर्नुपर्ने पक्षलाई समेत आयोगले मध्यनजर गरेको बताएको छ ।

नयाँ महसुल दरमा ग्राहस्थस्तरमा विद्युत उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महसुलमा औसतमा २.८४५ ले घटाएको छ ।

सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा रु २५ ले कटौती गरी क्रमशः प्रति युनिट रु १००, रु। १२५ रु १५० कायम गरिएको छ।

यसै गरी, सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा रु। २५ ले घटौती गरी क्रमशः प्रति युनिट रु १५०, रु १७५, रु २००, रु २५० कायम गरिएको छ ।

यसै गरी, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रति युनिट रु ९.५० कायम गरिएको छ। साथै, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट रु १ घटाई प्रति युनिट रु। ११ कायम गरिएको छ।

आन्तरिक रूपमा विद्युत खपत वृद्धि गराउन उपभोक्तालाई प्रेरित गर्ने नेपाल सरकारको नीति अनुरूप सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरयासी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने हेतुले साबिकको भन्दा कम महसुल हुने गरी महसुल दर निर्धारण गरिएको आयोगले बताएको छ ।

थ्री फेजबाट विद्युत आपूर्ति लिने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा आषाढदेखि कार्तिकसम्म वर्षा यामको महसुल दर र मङ्सिरदेखि जेष्ठसम्म सुख्खा यामको महसुल दर हुने गरी मौसमी दर कायम गरिएको छ।

नेपालमा जनसंख्याको ठुलो हिस्सा अझै पनि कृषिमा निर्भर रहेको र अर्थतन्त्रमा कृषिको योगदान उल्लेख्य रहेको पक्षलाई मध्यनजर गर्दै यस क्षेत्रको उत्थानमार्फत अर्थतन्त्रलाई गति दिने उद्देश्यका साथ सिँचाइ उपभोक्ता वर्गको हकमा औसतमा ४०.६९ प्रतिशतले महसुल घटाइएको छ ।

यस्तो छ नयाँ महशुल दर :

प्रतिक्रिया दिनुहोस्
MBL