काठमाडौं । नेपाल सरकारले हालसम्म भूकम्प पीडितका लागि ३ अर्व बराबरको न्यानो कपडा वितरण गरेको छ ।
पुस १७ गतेसम्म भूकम्प पीडितका लागि ३ अर्व २ करोड २६ लाख ६० हजार बराबरको न्यानो वितरण गरिएको मन्त्रालयका सह प्रवक्ता केशवराज आचार्यले जानकारी दिए ।
‘२१ जिल्लाका ३ लाख २ हजार २ सय ६६ परिवारलाई न्यानो कपडा वितरण गरिएको हो’ उनले भने ।
आचार्यका अनुसार जिल्ला दैवी प्रकोप उद्धार कोषबाट न्यानो कपडा खरीदका लागि प्रतिपरिवार १० हजारका दरले लत्ता कपडा वितरण गरिएको हो ।
त्यस्तै आगामी दिनमा पनि पीडितहरुलाई कपडा वितरण कार्यलाई निरन्तरता दिइने गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सिल्धुपाल्चोकमा सवैभन्दा बढी ७१ करोड २९ लाख बराबरको लत्ता कपडा वितरण गरिएको हो ।
त्यस्तै नुवाकोटमा २९ करोड ६० लाख, काभ्रेपलान्चोकमा २५ करोड ,गोरखामा २२ करोड ८ लाख र भक्तपुरका भूकम्प पिडीतका लागि २१ करोड बराबरको न्यानो कपडा वितरण गरिएको बताइएको छ ।