काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडार्इ गरेको छ । यसअघि विदेश जाँदा १ हजार ५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा अहिले त्यसलाई कडाई गर्दै २ सय डलरमात्रै नगदमा सटही गर्न पाइने व्यवस्था गरेको हो ।
पछिल्लो समय कार्डलाई प्रोत्साहन नगदलाई निरुत्साहति गर्ने नीतिअनुरुप विदेश जाँदा नगदमा डलर सटही सुविधा घटाइएको नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । ‘हामीले विदेश जाने व्यक्तिले पाउने डलर सटही सुविधा घटाएका होइनौं,’ उनले भने, ‘नगदमा डलर सटही सुविधा दिँदा दुरुपयोग हुने सम्भावना बढेकाले त्यसलाई निरुत्साहित गर्दै कार्डमा डलर सुविधा दिएका हौं ।’ साथै यस विषयमा सम्बद्ध बैंकहरुलाई समेत आन्तरिक रुपमा सर्कुलर गरिसकेको ढकालले जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार नगदमा डलर सुविधा दिँदा त्यसरी दिईने रकम नेपालमै अन्य प्रयोजनका लागि खर्च थालेपछि त्यसलाई रोक्न नगद सटही सुविधा घटाइएको हो । ‘विदेश जाँदा सबै रकम नगदमा दिँदा त्यस्तो रकम नेपालमै अन्य प्रयोगनका लागि प्रयोग गर्छन वा विदेशमा गएर खर्च गर्छन त्यो थाहा हुँदैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यहि रकम कार्डमा दिँदा कहाँ कसरी खर्च गर्छन त्यसको जानकारी राख्न सकिन्छ भने डलर दुरुपयोग हुने सम्भावना पनि कम हुन्छ ।’
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने कामदारलाई २ सय र पर्यटक भिसामा घुम्न जानेका लागि १५ सय डलरसम्मको डलर सटही सुविधा दिँदै आएको थियो । तर, अबका दिनमा नगदमा भने वैदेशिक रोजगारीमा जाने र पर्यटन भिसामा जाने दुबैको लागि एउटै सुविधा दिइएको जानकारी दिएको छ । तर, कार्डमा भने १५ सय डलर नै सटही सुविधा पाउने छन् ।
राष्ट्र बैंकले पर्यटक भिसामा विदेश जाँदा नगदमा २ सय डलर मात्रै नगद सटही सुविधा दिएपनि त्रिभुवन विमानस्थल अध्यागमनमा भने १ हजार डलर देखाउनुपर्ने हुन्छ । हालसम्म यस विषयमा कुनै सुचना नआएको अहिलेसम्म पर्यटक भिसामा विदेश जाने नेपालीले १ हजार डलर नै देखाउनु पर्ने त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख शुशील बैद्यले जानकारी दिए । ‘यस विषयमा केही दिनभित्रै सुचना आउने भन्ने जानकारीमा आएको छ,’ उनले भने, ‘तर अहिलेसम्म राहदानीमा छाप लगाएर १ हजार डलर नै बोकेर जानुपर्छ ।’
तर आगामी दिनमा पर्यटक भिसामा विदेश जाँदा बोक्नुपर्ने १ हजार डलरको सीमालाई समेत घटाउन लागिएको उनले जानकारी दिए । ‘मौजुदा व्यवस्था अनुसार अहिले विदेश जाँदा न्यूनतम १ हजार अमेरिकी डलर बोक्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सायद अब केही दिनमै उक्त सीमालाई घटाएर ५ सय डलरमा झारिँदै छ ।’