Logo

बजारमा चिनी अभाव भएको अनावश्यक हल्ला फैलाईयो : वाणिज्य सचिव भट्टराई

बजारमा चिनी अभाव भएको अनावश्यक हल्ला फैलाईयो : वाणिज्य सचिव भट्टराई



काठमाडौं । वाणिज्य सचिव दिनेश भट्टराईले बजारमा चिनी अभाव भएको भन्दै अनावश्यक हल्ला चलाईएको बताए । सोमबार वाणिज्य विभाग र नेपाल आयल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यवसायी, उद्योगी र संचारमाध्यमले अनावश्यक चिनी अभावको हल्ला चलाएको आरोप लगाएका हुन् ।

उनले बजारमा आवश्यक भन्दा बढि चिनी भएपनि चाडपर्वको मौकामा चिनी अभावको हल्ला चलाईनु अनावश्यक भएको बताए । उनका अनुसार बजारमा नेपाली उत्पादनसँगै विदेशबाट पनि पर्याप्त मात्रामा चिनीको आयात गरिएको छ । हाल नेपालमा बार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनीको आवश्यक पर्ने गर्दछ । तर, बजारमा आयातित र नेपालमै उत्पादित गरेर ३ लाख ९० हजार मेट्रिक टन बढि चिनी मौज्दात छ । यस्तै उनले दशैंको अवसरमा पनि चिनीको अभाव विल्कुल नहुने बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश प्रकाश पौडेलले विभागले बजार अनुगमन गरिरहेको बताए । पौडेलले भने, ‘हामीले मूल्य र गुणस्तरको विषयलाई केन्द्रमा राखेर बजार अनुगमन गरिरहेका छौं । उत्पादन गर्ने उद्योग र स्टोरमा नै पुगेर अनुगमन भइरहेको छ । अहिले खाद्य संस्थानले उद्योगबाट खाने तेल बिक्री गर्दा केही सस्तो भएको भन्ने कुरा पनि आएको छ । व्यापारीको धेरै तह भएर तेलको मूल्य वृद्धि भएको हो कि भन्ने पनि लागेको छ । यस विषयमा पनि हामी उत्पादकसँग छलफल गर्ने छौं ।’ उनले यो बर्षको बजार अनुगमन खासगरी दशैंमा केन्द्रित रहेर मूल्य र गुणस्तरको बारेमा अनुगमन गरिरहेको बताए ।

विभागका प्रवक्ता शिवराज सेढाईले बजार अनुगमनलाई अझ कसरी प्रभावकारी बनाउने भनेर विभाग लागिपरेको बताए उनले यो बर्ष इन्टेलीजेन्स मोडलबाट बजारका गुनसाहरु प्राप्त गरी अनुगमन गरिरहेका समेत उल्लेख गरेका छन् । सामाजिक संजाल, हेलो सरकार, विभागको वेवसाईट, टोलफ्रि नम्बरलगातबाट गुनासो संकलन गरी सोही अनुसार दैनिक ६ टोली खटाई अनुगमन भईरहेको उनको भनार्य छ ।

विभागले गत आर्थिक वर्ष २ हजार ५ सय अनुगमन गरेकोमा ६८ वटा व्यवसायले बाहेक सबै व्यवसायमा कैफियत देखिएको थियो । चालु आर्थिक बर्षको २ महिनामा पनि २ सय विभिन्न व्यापारी पसलहरुमा अनुगमन गर्दा सबैको गल्ति भेटाएको सेढाईले बताए । २ सयमा केहीलाई कारवाही र केहीलाई सामान्य निर्देशन भएपनि दिनुपर्ने अवस्था रहेको थियो ।

उपाभोक्ता अधिकार कर्मी कृष्ण प्रसाद भण्डारीले कालो बजारी र बजार अनुगमनको विषयमा काठमाडौंको ठूलो होटलमा कार्यक्रम गरेर समस्याको सामाधान नहुने बताए । उनले भने, ‘विभागले गाउँगाउँमा जनचेताना मूलक कार्यक्राम ल्याउनु पर्ने पर्यो । गाउँका उपभोक्ता कालो बजारीको मारमा परेका छन् । सरह केन्द्रीद कार्यक्रम गरेर केही हुदैन ।’

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलियम पदार्थको विषयमा कुनै समस्या नहुने बताए । दसैंको बेलापनि निगमको डिपो सञ्चालन हुने उनको भनाई थियो ।

नेपाल चेम्बर अफ कमर्सका सदस्य देबेन्द्र भक्त श्रेष्ठले वाणिज्य विभागले बजार अनुगमन गर्दा व्यापारीलाई तर्साउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्