Logo

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, फूलपातीदेखि रुट परमिट नचाहिने

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, फूलपातीदेखि रुट परमिट नचाहिने



काठमाडौं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले सोमबारदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।

प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको जानकारी दिए । नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टर मार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिने बताए । ‘म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,’ महासचिव सिटौलाले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।

फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नचाहिने

सरकारले दसैँका बेला यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन सक्ने बताएको छ । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए ।

उनले यात्रुको चापलाई ध्यानमा राख्दै सो अवधिमा देशका जुनसुकै स्थानसम्म बिना रुट परमिट बस चलाउन दिने उल्लेख गरे । उनले भने– ‘हामीले दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुला गरेका छौँ । यो बेला जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था गरेका छौँ ।’

उनले बसको छतमा मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरेको जानकारी दिए । साथै सवारी साधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रुपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको बताए ।

पश्चिम जाने बसहरु नयाँ बसपार्क, कलंकी र त्यस आसपासबाट छुट्ने, पूर्व जाने बसहरु कोटेश्वरदेखि कलंकीसम्म सडकको दायाँ बायाँ विभिन्न स्थानबाट र भक्तपुरको सल्लाघारीबाट छुट्ने व्यवस्था गरिएको जानकारी गराए । साथै सादा पोसाकमा प्रहरी आफैं यात्री बनेर भाडादरको अनुगमन गर्ने व्यवस्था गरिएको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL