Logo

प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने तयारी, एमालेले अवरोध गरे के हुन्छ ?

प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने तयारी, एमालेले अवरोध गरे के हुन्छ ?



काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच सरकारले आज प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।

आज ११ बजेका लागि बोलिएको बैठकबाट बजेट पारित गर्ने सरकारले तयारी गरिरहदा एमालेले भने संसदको अवरोध कायम राख्ने भएको छ । 

बजेट पारित नहुदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको छ ।  अहिले ‘बजेट होलिडे’ को अवस्था हुँदा कर्मचारी, सांसद, मन्त्री, प्रधानमन्त्रीहरुको तलबका साथै विकास आयोजनालगायतको भुक्तानीसमेत रोकिएको अवस्था रहेको छ ।

प्रतिनिधिसभा को आजको सम्भावित कार्यसूचीमा विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्दै छन् । भदौ २९ मा स्थगित प्रतिनिधिसभा बैठक सोमबार दिउँसो ११ बजे बस्दै छ ।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर सोमबारको बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी रहेको छ । 

विनियोजन विधेयक पारित भएपछि मात्रै त्यसमा आश्रित विधेयक राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल हुने व्यवस्था छ । सोमबारको बैठकमा विनियोजन विधेयक, २०७८ मा सबै मन्त्रालयका लागि विनियोजित बजेट र त्यसका शीर्षकमाथि छलफल गर्ने तयारी छ । 

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेर सोमबार नै राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल गरेर सुझाव पेस गर्न सांसदहरूका लागि २४ घण्टाको समय लागु गर्ने तयारी छ ।

सरकारले खर्च गर्न नपाउने कानुनी अड्चन हटाउन राष्ट्रियसभाबाट पनि छोटो प्रक्रिया अपनाएर विनियोजन विधेयक पारित गर्न लागिएको हो । कुनै अवरोध नभए राष्ट्रियसभाबाट असोज ८ सम्म विनियोजन विधेयक पारित गर्ने र त्यसको सन्देश प्रतिनिधिसभामा सुनाएर सभामुखले हस्ताक्षर गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइनेछ ।

आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सत्तारुढ गठबन्धनका दलहरुले सबै सांसदलाई उपस्थित हुन हवीप जारी गरेका छन् । सत्तारुढ गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले पनि सबै सांसदलाई बजेट पारित नहुन्जेल संसद्मा अनिवार्य उपस्थित हुन ह्विप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL