काठमाडौं । नेपालको सबैभन्दा नजिकका दुई छिमेकी भारत र चीन नेपालको अन्तरािष्ट्रय व्यपारका प्रमुख साझेदार पनि हुन् । आयतमा निर्भर नेपाली अर्थतन्त्र यी दुई देशबाट वार्षिक खर्बौ रुपैयाँको सामग्री आयात गर्छ भने न्यूनमात्रामा निर्यात गर्छ । तर, पछिल्लो समय चिनियाँ सरकारले विभिन्न बहानामा भन्सार विन्दुहरुमा व्यवधान खडा गर्दा नेपाली व्यवसायीहरु हैरान भएका छन् । पछिल्लो समय पनि चीनले चिनियाँ नाकासम्म आईपुगेको सामान नेपाल पठाउनै आनाकानी गर्ने गरेकाले भनेको समयमा दशैंको लत्ताकपडा र जाडो महिनाका लागि आवश्यक लुगा आउन नसकेको व्यवसायी बताउँछन् ।
नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ चीनले नेपालमा गर्ने निर्यातको व्यापारलाई त्यति गहिरो रुपमा नलिएको बताउँछन् । उनका अनुसार चीनले नेपाललाई गर्ने व्यवहारकै कारण नेपाली व्यवसायीले भूकम्पकै बेलादेखि दुखः पाईरहेका छन् । विस २०७२ सालको बैशाखमा भूकम्प आएदेखि नै चिनियाँ नाकाबाट भित्रिने सामानमा आनाकानी हुँदै आएको न्छ । भूकम्पपछि कहिले पुल मर्मत, कहिले बाटो मर्मतलगायतका बिषयहरु अघि सारेर चीन सरकारले नेपालमा सामान पठाउनै नमान्ने अवस्था सिर्जना भएको थियो । भूकम्पको बहानापछि पुनः कोरोना महामारीको बहनामा व्यवसायीले झन धेरै दुखः पाउनुपरेको उनको गुनासो छ ।
चीनले पछिल्लो समय रसुवा र तातोपानी नाकाबाट प्रतिदिन ९ र १० कन्टेनर मात्रै सामान छोडिरहेको छ । कोरोना महामारी र बाटोको दुरावस्था कारण देखाउँदै उताबाट नेपाली भन्सार कार्यालयसम्म दिनमा जम्मा ९ र १० कन्टेनरलाई मात्र प्रवेश अनुमति दिएको अवस्था छ । यसबाट नेपाली व्यवसायीको मागजति सामान नआउने पूर्व अध्यक्ष श्रेष्ठ बताउँछन् । नेपाल चाईना चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत रहेका उनले चीनले पछिल्लो समय नेपाली व्यापारीमाथि उपेक्षा गरेको बताए । ‘हामीले मगाएको जति सामान पठाउन चीनलाई कुनै समस्या छैन तर, पनि पठाउँदैन,’ उनले भने, ‘हामीले दैनिक भित्रिने कन्टेनरको संख्या तोक्न नहुने भन्दै चीनको दूतावास र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका छौं ।’
चीनले कोटा तोकेर पठाउँदा दिनमा उताबाट आयात हुने स्याउ, खानेकुरा, ओखरलगायतसामान मात्रै आईपुग्ने र व्यवसायीको लत्ताकपडालगायत पछि पर्ने गरेको उनको भनाई छ । चीनले नेपाली व्यापारीमाथि उपेक्षा गरिरहँदा व्यापार गर्ने नाका नै डाइभर्ट गर्नुपर्ने अवस्था आउने उनले बताए । ‘हामीले धेरैपल्ट चिनियाँ सरकारबाट दुखः पाईरहेका छौं,’ उनले भने, ‘यस्तै हो भने चीनबाट आयात हुने सामानहरु सबै अन्तै देशबाट आयात गरी भन्सार नाका नै डाईभर्ट गर्नुपर्ने अवस्था आउन सक्छ ।’
यता तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री भने बाटो विगे्रका कारण दैनिक ३ कन्टेनरमात्रै नेपाल भित्रिने गरेको बताउँछन् । भूकम्पपछि नै क्षतविक्षत भएको उक्त क्षेत्रमा थोरै पानी पर्ने वित्तीकै बाटो विग्रिने समस्याका कारण दैनिक २ देखि ३ कन्टेनर मात्रै सामान हाल नेपाल भित्रिरहेको उनले बताए । धेरै स्थानमा बाटो विग्रेको भन्दै हाल चीनबाट आएका ४० मिटरका कन्टेनरहरु नेपाल आउँदैनन् । चीनको नाकासम्म ४० मिटरको कन्टेनरमा आएको सामानलाई नेपालबाट गएका २० मिटरका कन्टेनरमा राखेर नेपाली भन्सारसम्म ल्याईने गरेको उनले बताए । हाल चिनियाँ पक्षले नै उताबाट त्यति परिमाणमा सामान पठाइरहेको उनले बताए ।
दशैं र जाडोका लागि आवश्यक लुगा समयमै आउन सकेन
चीनतर्फबाट सामान आउन नपाएपछि यसपालीको दशैं, तिहार र जाडोका लागि आवश्यक लुगा पनि हालसम्म आइनपुगेको व्यवसायीको गुनासो छ । चिनियाँ पक्षले कोटा तोकेर प्रतिदिन २ देखि ३ कन्टेनर मात्रै सामान छोडिदिँदा सामान आउन नसकेको व्यवसायी बताउँछन् । ‘चाडपर्वको किनमेल शुरु भइसक्यो । तर, हाम्रो करोडौं रुपैयाँको सामान बाटोमा अलपत्र पर्ने अवस्था छ’, एक व्यवसायीले भने ।
२२ अर्बको आयात, निर्यात शून्य
भन्सार विभागका अनुसार नेपालले चीनतर्फका प्रमुख २ नाका रसुवागढी र तातोपानीबाट गत अािर्थक बर्षभरी २२ अर्ब बढीको आयात व्यापार गरेको छ । विभागका अनुसार उक्त आवमा नेपालले चीनतर्फको विभिन्न उल्झनका बीच पनि २२ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बढीको मालवस्तु आयात गरेपनि निर्यात भने शुन्य छ । नेपालबाट चीनतर्फ हुने निर्यात व्यापार कोरोना महामारी फैलिएपछि शुन्य छ । अर्थात चीनले कोरोना महामारीको कारण देखाउँदै एकतर्फी रुपमा अघोषित नाकाबन्दीजस्तै गरेको छ । जसका कारण नेपालबाट चीनतर्फ कुनै सामान निर्यात भएको देखिँदैन । यस्तै कोरोना महामारीको हल्ला चलेदेखि नै चीनले नेपालतर्फ पठाउने सामान र नेपालबाट निर्यात हुने सामानको बारेमा आनाकानी गरिदिँदा तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्नेसमेत बताएका थिए । त्यसयता दोहोरो व्यापारका लागि सरकारले नै धेरैपटक आग्रह गर्दा पनि चीनले नसुनेको जस्तो गरिरहेको अवस्था विद्यमान छ ।
२ सय बर्ष लामो व्यापारिक सम्बन्ध
नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतबीच करिव साढे २ सय बर्षदेखिनै व्यापारिक सम्बन्ध रहँदै आएको छ । नेपालले आवश्यक वस्तुहरु चीनबाट खरिद गर्नका लागि नेपालबाट पनि वस्तु नै लिएर जाने चलनदेखि हालसम्म दुई देशबीचको व्यापारमा ठूलो परिवर्तन आईसकेको जानकार बताउँछन् । खासगरी सिमा नजिकका जिल्लाहरुमा अहिले पनि पुरानै प्रचलनको हुँदै आइरहेको भएपनि आधुनिक व्यापारको श्रृङखला भने सन १९६१ मा काठमाडौंदेखि चीनको तिब्बत जोड्ने सडक बनाउन सम्झौता भएपछि सुरु भएको देखिन्छ ।
चीनतर्फको वैदेशिक व्यापारको चर्चा खासगरी विस २०७२ सालको भूकम्पमा भारतले लगाएको नाकाबन्दीपछि चुलियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनतर्फका २ मुख्य नाका खुलाउन ठुलो भूमिका खेलेका थिए । भारतले नाकाबन्दी लगाएपछि इन्धन आपुर्तिकै लागि भन्दै धादिङका गल्छीदेखि रसुवागढीसम्मको सिंगल लेन सडकलाई डबल लेन बनाउने प्रक्रिया सुरु गरिएको थियो । त्यसबेला सरकारले भारततर्फका भन्दा भने चीनतर्फका नाकामा बिशेष जोड दिएको थियो ।